दमौली– पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१ अम्रेनीमा मध्यरातमा गाडी तोडफोड गर्ने तीन जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा व्यास –५ स्थायी घर भई व्यास–४ बस्ने २२ वर्षीय अभिषेक श्रेष्ठ, हेटौँडा उपमहानगरपालिका–३ स्थायी घर भई हाल व्यास–३ का १८ वर्षीय अन्जन पुलामी र व्यास –५ का २२ वर्षीय रोशनकुमार श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
उनीहरूलाई दमौली बजारबाट सोमबार पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए। पक्राउ परेकाविरुद्ध आपराधिक उपद्रव मुद्दा शीर्षकमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
आइतबार राति डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ग१क २६६३ नंको मिनीट्रकलाई सोही दिशाबाट मोटरसाइकल र स्कुटरमा आउँदै गरेका युवाहरूले रोकी चालक रेखबहादुर थापालाई कुटपिटसमेत गरेका थिए।
उनीहरुले उक्त ट्रकमा ढुङ्गासमेत प्रहार गरी सिसा, हेडलाइड फुटाएका थिए। घटनालगत्तै फरार उनीहरूलाई प्रहरीले खोजतलास गर्दै जाँदा लु७२प १३०६ नंको स्कुटर र प्र०२–००–०००३प १८९१ नंको मोटरसाइकलसहित पक्राउ गरेको प्रहरीले बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।