काठमाडौं– अभिनेताको रुपमा कलाकार राजेश हमालले धेरै समय नेपाली फिल्ममा बिताए।
दशकौंसम्म पर्दामा देखिने अनुहार उनकै मात्र थियो। पछिल्लो समय फिल्मको पर्दामा नदेखिए पनि उनी म्युजिक भिडियो तथा विज्ञापनहरुमा देखिइ रहेका छन्।
म्युजिक भिडियोमा व्यस्त रहेका अभिनेता हमालले शुक्रबार आफ्नै गायन तथा अभिनय रहेको गीत पनि सार्वजनिक गरेका छन्। शुक्रबार गरिमा इन्टरटेनमेन्ट नामक युट्युब च्यानलबाट उनको आवाजमा रहेको गीत ‘गाउँले ठिटो’ सार्वजनिक भएको छ।
गाउँको कथालाई समेटिएको उक्त गीत विभिन्न पीडा र समस्याका कारण गाउँ छाड्ने युवादेखि गाउँको जीवनका विशेषताहरुको बारेमा रहेको छ। गीतमा शब्द गोविन्द भट्टको रहेको छ। सन्तोष श्रेष्ठले संगीत दिएको गीतको एरेन्ज गोपाल रसाईलीले गरेका छन्।
कमला भट्ट पाण्डे र गरिमा भट्टको लगानीमा बनेको गीतको भिडियोलाई देवेन्द्र पाण्डेले निर्देशन गरेका छन्। हमालसँगै गीतको भिडियोमा उत्तम केसी, शिवराज कार्की, सुरेन्द्र कुमार दाहाल, गोविन्द भट्ट र सुनिल देवकोटालगायतको अभिनय रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।