स्थानीय तह निर्वाचनअन्तर्गत मतदान हुने दिन नजिकिँदै गर्दा दल तथा उम्मेदवारहरुले चुनाव प्रचार तीव्र पार्दै गएका छन्। ५ दल सम्मिलित सत्ता गठबन्धनले कतिपय स्थानीय तहमा चुनावी तालमेल गरेको छ भने कतिपय ठाउँमा गठबन्धनकै दलहरु पनि एक्ला–एक्लै प्रतिस्पर्धामा छन्। प्रमुख प्रतिपक्षी नेकपा एमालेले पनि स्थानीय तह हेरेर गठबन्धन र एक्लाएक्लै प्रतिस्पर्धा गरिरहेको छ। कतिपय स्थानीय तहमा दलीयभन्दा स्वतन्त्र उम्मेदवारको चर्चा बढी छ।
काठमाडौंको कीर्तिपुर नगरपालिकामा पनि चुनावी सरगर्मी बढेको छ। यहाँ नेपाली कांग्रेसले जसपासँग तालमेल गरेको छ। अन्य पार्टीहरु एक्लाएक्लै चुनावी मैदानमा होमिएका छन्। कीर्तिपुर नगरपालिकामा जसपासँगको गठबन्धन गरेर नेपाली कांग्रेसबाट साझा उम्मेदवार बनेका राजकुमार नकर्मीसँग स्थानीयतहको निर्वाचनको विषयमा केन्द्रीत रहेर नेपाल लाइभका लागि बीपी अनमोलले गरेको कुराकानीः
तपाईंलाई कीर्तिपुरका जनताले किन भोट दिने?
स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले उठाएका मुद्दाहरुलाई नै आधार मानेर जनताले हामीलाई भोट हाल्छन् जस्तो लाग्छ। अब हाम्रो मुद्दा भनेको कीर्तिपुरको विकाससँग सम्बन्धित छ। यहाँको शिक्षा, स्वास्थ्य र रोजगारीसँग सम्बन्धित छ। सरसफाइ, खानेपानी, सडक पूर्वाधार लगायतका अन्य विषयलाई जसरी हामीले प्रतिबद्धता व्यक्त गरेका छौं, त्यही आधारमा हामीलाई जनताले भोट हाल्नेछन्।


फोहोर व्यवस्थापन र सडक विस्तारमा तपाईंंको योजना के छ?
कीर्तिपुरको सबैभन्दा कमजोर पक्ष भनेको नै फोहोर व्यवस्थापनको समस्या हो। त्यसलाई चाहिँ नगरपालिका आफैंले जिम्मा लिएर फोहोरको व्यवस्थापन गर्नुपर्ने हुन्छ। आउँदै गरेको पाँच वर्षसम्म कीर्तिपुरको फोहोर व्यवस्थापन गर्न यहाँ नै ठाउँहरु रहेको छ। छलफल गर्न बाँकी छ। योजना बनाएर नै काम गर्न सकिन्छ। यति गर्न सकियो भने सिसडोल लगायत ठाउँमा लगेर फोहोर व्यवस्थापन गर्नुपर्छ जस्तो लाग्दैन। सडक विस्तारको कुरा गर्दा यहाँ पनि निकै साँघुरा सडक छन्। तर, यो अवस्था देखिँदैन। सर्वोच्च अदालतले नै प्रष्ट रुपमा मुअब्जा नदिइकन पाइँदैन भनेको छ। त्यसका कारणले गर्दा पनि सडक विस्तार कठिन विषय हो जस्तो लाग्दछ। यद्यपि नयाँ बन्ने सडकलाई फराकिलो बनाउने हाम्रो योजना रहेको छ।
नगरलाई व्यवस्थित बनाउने र रोजगारी सिर्जना गर्ने योजना के हो ?
कीर्तिपुर आफैंमा व्यवस्थित शहर थियो। विश्वकै व्यवस्थित शहरका रुपमा पनि कीर्तिपुर परेको थियो। तर, यसलाई चाहिँ विभिन्न शासकहरुको शासनकालमा सधैं छायाँमा राखिएका कारणले गर्दा विस्तारै व्यवस्थित शहर कुरुप बन्दै गएको हामीले महसुस गरेका छौं। कीर्तिपुरको पुरानो अवस्था हेर्ने हो भने प्रत्येक घरमा बाटो छ। प्रत्येक घर अगाडि ढल छ। पछाडि करेसाबारी छ। अति व्यवस्थित शहर कीर्तिपुर। पुरानो शहर थियो। विभिन्न कारणले गर्दा व्यवस्थिता गुमाएको अवस्था छ। अब यसलाई योजना बनाएर पुनः व्यवस्थित बनाएर लैजानुपर्ने छ।
रोजगारीको हकमा आफैं सिर्जना गर्नेभन्दा पनि स्वरोजगारका कार्यक्रम ल्याउनुपर्ने हो। हामीसँगको ६५ सय रोपनी जग्गा त्रिविलाई दिएका छौं। त्यसबाफत त्रिविले कीर्तिपुरलाई छुट्टै जग्गा दिएको छ। त्यहाँ हामी टेक्निकल इन्ष्टिच्युट स्थापना गर्छाैं। त्यो भइसकेको अवस्था पनि छ। त्यहाँबाट नै हामी सीपयुक्त हातहरुलाई अझ विभिन्न तालिम दिएर स्वरोजगार बनाउने हाम्रो योजना रहेको छ। त्यस्तै कृषि, पशुपालन लगायतका विभिन्न कार्यक्रमका माध्यमबाट पनि हामीले मानिसलाई स्वरोजगार बनाउने भन्ने योजना अघि सारेका छौं।
प्रतिस्पर्धी उम्मेदबारलाई कसरी हेर्नु भएको छ?
कीर्तिपुरमा एउटा राम्रो रुपमा राजनीतिक सहमति भएको छ। हामी कसैलाई गाली गलौजको राजनीति गर्दैनौं। हामी मैत्रीपूर्ण रुपमा चुनावमा होमिएका छौं। यो मित्रवत प्रतिस्पर्धाकै माध्यमबाट हामी चुनाव लड्ने हो। प्रतिस्पर्धा यहाँ विशेष गरेर तीन दलकै बीचमा हुने हो। नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रकै बीचमा यहाँ प्रतिस्पर्धा हुने हो। म आफैले भन्नुपर्दा आफ्नो दलको स्थिति नै अहिले राम्रो पाएको छुँ। हामीले उठाएका अजेन्डा लगायतले गर्दा यसपटक हामी नै विजयी हुन्छौं। जनताले हामीलाई नै चुन्ने छन्।
तपाईंंले शिक्षाको गुणस्तर सुधारका लागि कसरी काम गर्नुहुन्छ?
कीर्तिपुर नेपालको पहिलो र पुरानो विश्वविद्यालय भएको ठाउँ हो। यहाँ प्रचुर मात्रामा शिक्षा क्षेत्रमा काम गरेको जनशक्ति छ। पीएचडी होल्डरहरु यहाँ यथेष्ट छन्। यीनै गुरुहरुको सहयोगमा यहाँ शिक्षाको गुणस्तर वृद्धि गर्नुपर्छ भन्ने मलाई लागेको छ। कीर्तिपुरले शिक्षा क्षेत्रमा छुट्टै पहिचान हुने गरेर काम गर्न सक्छ भन्ने मलाई लागेको छ। यद्यपि यहाँ केही सामुदायिक र संस्थागत विद्यालयबीचको जुन फरक छ त्यसलाई कम गर्दै सामुदायिक विद्यालयलाई गुणस्तरीय शिक्षा दिने थलोको रुपमा विकास गर्न सक्छौं। र, त्यो गर्ने आधार भनेको यहाँ उपलब्ध जनशक्ति नै हो भन्ने मलाई लागेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।