काठमाडौं–मृतकलाई क्षतिपूर्तिलगायतका विषयमा परिवारसँग सहमति भएपछि उदयपुरको कटारी नगरपालिका ७ सोरुङछविसेस्थित कालिका मावि मतदान केन्द्रबाट मतपेटिका कटारी लैजान लागिएको छ।
गत शुक्रबार मतदान सम्पन्न भएपछि मतपेटिका उठाउने क्रममा स्थिति तनावपूर्ण भएपछि प्रहरीले चलाएको गोली लागेर स्थानीय १९ वर्षीय युवक नवीन भनिने वीरबहादुर कटुवालको मृत्यु भएको थियो। उक्त घटनापछि परिवारले शव उठाउन मानेका थिएनन् भने मतपेटिका कटारी लैजाने कार्य पनि हुन सकेको थिएन।
आइतबार परिवारसँगको सहमतिपछि मतपेटिका उठाइएको हो।
शुक्रबारको घटनापछि स्थानीयहरुले घटनाका बारेमा छानबिन हुनुपर्ने माग गर्दै आएका थिए। परिवारले मृतकलाई सहिद घोषणा गर्नुपर्ने, सहिद पार्क बनाइदिनु पर्ने, छानबिन गरी दोषी देखिए प्रहरीलाई कारबाही गर्नुपर्ने, क्षतिपूर्ति दिनुपर्ने माग राखेका थिए।
शव पनि पोस्टमार्टमका लागि कटारी ल्याइएको छ। प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवसहित जिल्ला सुरक्षा समितिका सदस्य, राजनीतिक दलका प्रतिनिधि, विभिन्न पार्टीका उम्मेदवारसहित मृतकका परिवारसँग सहमति गरेपछि अब मतगणना सुरु हुने देखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।