काठमाडौं- तेह्रथुमका ६ मध्ये तीन पालिकाको अन्तिम नतिजा आएको छ। जसमध्ये एमालेले दुई र कांग्रेसले एउटा पालिकामा जित हासिल गरेका छन्।
तेह्रथुम सदरमुकाम रहेको म्याङलुङ नगरपालिकामा एमालेले जित हासिल गरेको छ। मेयरमा एमालेका सञ्जयकुमार तुम्बाहाङ्फेले ५ हजार ११७ मतसहित विजय हासिल गरे। कांग्रेसका अर्जुनबहादुर तुम्बाहाङ्फेले ४ हजार ४७८ मतमात्रै पाए।
उपमेयरमा एमालेकै जमुनादेवी सुवेदी ५ हजार २१० मतसहित निर्वाचित भइन्। उनकी निकटतम प्रतिस्पर्धी कांग्रेसकी पार्वती सानु डाँगीले ४ हजार ४१४ मत पाइन्।
तेह्रथुमको छथर गाउँपालिकामा पनि गठबन्धन उम्मेदवारलाई हराउँदै एमालेले जित निकालेको छ। एमालेका निवर्तमान अध्यक्ष सन्तवीर लिम्बुले ३ हजार ९९५ मत प्राप्त गर्दा सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार इन्द्रबहादुर इम्सङले ३ हजार ३०६ मत पाए।
उपाध्यक्षमा एमालेकी तारा खरेलले ३ हजार ७६२ मत पाउँदा निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार टेकराज लिम्बुले ३ हजार ६०२ मत पाए। उनी अघिल्लो पटक अध्यक्षमा पराजित भएका थिए।
फेदाप गाउँपालिकामा भने कांग्रेसले जित हासिल गरेको छ। अध्यक्षमा कांग्रेसका केशवप्रसाद भेटवालले ४ हजार ०४१ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी एमालेका हरिप्रसाद चोङवाङ लिम्बुले ३ हजार ८७९ मत पाए। उपाध्यक्षमा कांग्रेसकी सुनिता पाहिमले ३९९५ मत पाएर विजयी हुँदा एमालेकी गितादेवी थापाले ३ हजार ७२५ मत पाइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।