काठमाडौं- रवीन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टीले स्थानीय निर्वाचन, २०७९ को प्रारम्भिक परिणाम पार्टीको नतिजा अपेक्षाकृत आउन नसकेकोमा दुःखी भएको बताएको छ।
सोमबार विज्ञप्ति जारी गर्दै साझा पार्टीले गत पाँच वर्षमा स्थानीय, संघीय, उप र पुनः स्थानीय चुनावमा प्रतिस्पर्धा गरिसकेको र देशभर पार्टीको परिचय स्थापना गर्न सफल भएको भएपनि निरन्तर समय दिन सक्ने जनशक्ति र आर्थिक स्रोतको अभावमा देशव्यापी संगठन बनाउन नसकेको बताएको छ।
सो पार्टीले हालै अंगीकार गरेको विवादित दस्तावेज 'विचारभन्दा माथि देश'को भने बचाउ गरिएको छ। प्रवक्ता शरदराज पाठकद्वारा जारी विज्ञप्तिमा भनिएको छ- 'कतिपय टिप्पणीकार तथा सञ्चारमाध्यमहरूले पार्टीको अत्यन्तै कमजोर नतिजामा पार्टीले केही समयअघि अंगीकार गरेको 'विचारभन्दा माथि देश' दस्तावेजको भूमिका रहेको विश्लेषण गरिरहेका छन्। अहिले मात्र होइन, सो दस्तावेज नआउँदै र पार्टीमा कुनै वैचारिक विवाद नहुँदै २०७६ सालमा भएको उपनिर्वाचनमा पनि पार्टीले यस्तै कमजोर नतिजा भोग्नु परेको थियो, जुन सोचनीय विषय छ।'
वैचारिक उथलपुथल र कयौँ अन्य कमजोरीका बाबजुद आफूहरुले इमानदारी, देशभक्ति र समाज रूपान्तरणको दृढता भने कहिल्यै नगुमाएको दाबी विज्ञप्तिमा गरिएको छ। 'त्यो कहिल्यै गुम्ने पनि छैन। यो हाम्रो प्रतिबद्धता हो', भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।