काठमाडौं– स्थानीय तह निर्वाचनअन्तर्गत मकवानपुरका १० वटा स्थानीय तहमध्ये दुई वटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ।
सार्वजानिक मत परिणाम अनुसार उत्तरी मकवानपुरको इन्द्रसरोबर गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन्। इन्द्रसरोवरको अध्यक्षमा एमालेका देवकृष्ण पुडासैनी र उपाध्यक्षमा उमाकुमारी लामा विजयी भएको निर्वाचन कार्यालयले जनाएको छ। पुडासैनीले ३ हजार ७२२ मत र लामाले तीन हजार ७२५ मत प्राप्त गरेका थिए।
भीमफेदी गाउँपालिकाको अध्यक्षमा एमाले र उपाध्यक्षमा गठबन्धनका उम्मेदवार विजयी भएका छन्।भीमफेदी गाउँपालिका प्रमुखमा एमालेका हिदम लामा विजयी भएका हुन्। सोमबार बिहान सकिएको मतगणना अनुसार लामाले नेकपा (माओवादी केन्द्र)का बद्रीबहादुर स्याङ्तानलाई पराजित गरेका हुन्। विजयी लामाले ५ हजार ५९१ मत प्राप्त गर्दा माओवादीका स्याङ्तानले ५ हजार २०९ मत प्राप्त गरेका थिए।
उपप्रमुखमा नेकपा(एमाले) की पार्वती रानालाई पराजित गर्दै नेपाली कांग्रेसका सञ्जीव श्रेष्ठ विजयी भएका छन्। श्रेष्ठले यसअघिकी उपाध्यक्ष रानालाई जम्मा १६ मतले पराजित गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।