काठमाडौं- अघिल्लो स्थानीय तह निर्वाचनमा धनकुटाका सबै सात पालिका जितेको एमालेलाई यसपटक सुरुवातदेखि नै धक्का लागेको छ। अहिलेसम्म परिणाम आएका तीनमध्ये दुई वटामा एमाले प्रमुख पदमा पराजित भएको छ।
एमालेले अहिलेसम्म चौबिसे गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष तथा साँगुरीगढी गाउँपालिकामा उपाध्यक्ष जित्न सफल भएको छ। साँगुरीगढी र छथर जोरपाटीको अध्यक्षमा कांग्रेस उम्मेदवार विजयी भएका छन्। धनकुटामा एमाले एक्लै प्रतिश्पर्धामा छ भने कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाले गठबन्धन गरेका छन्।
चौबिसेको अध्यक्षमा एमालेका उम्मेदवार राजकुमार लिम्बु ५,०३८ मत पाएर विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवार दलबहादुर मगरले ३,९९१ मत ल्याए।
साँगुरीगढी गाउँपालिकाको अध्यक्षमा कांग्रेसका जितेन्द्र राईले ५३ सय ९९ मत पाउँदा उनका निकटतम् प्रतिस्पर्धी एमालेका कुमारजंग याखाले ४८ सय २८ मत पाए।
छथर जोरपाटी गाउँपालिका अध्यक्षमा गठबन्धनबाट कांग्रेसका उम्मेदवार छत्रबहादुर सुब्बाले ४ हजार ३५९ मतसहित जित हासिल गरे। उनका निकटतम् प्रतिश्पर्धी एमालेका शेरबहादुर लिम्बूले ४ हजार १६४ मत पाए। लिम्बू गाउँपालिकाका निवर्तमान अध्यक्ष हुन्।
मतगणना जारी रहेकामध्ये महालक्ष्मी र पाख्रिबास नगरपालिकामा गठबन्धनबाट उम्मेदवारी दिएको नेपाली कांग्रेसले अग्रता लिइरहेको छ। धनकुटा नगरपालिकामा भने एमालेले अग्रता लिएको छ। शहीदभूमि छिन्ताङ गाउँपालिकाको दुई वटा केन्द्रको मतदान रोकिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।