काठमाडौं- अध्यक्ष राजेन्द्र लिङदेनको गाउँपालिका झापाको हल्दिबारीमा राप्रपाले फराकिलो मतान्तरसहित अग्रता कायम गरेको छ।
गाउँपालिका अध्यक्षमा राजेन्द्रका दाजु रवीन्द्र लिङदेन उम्मेदवार बनेका छन्। उनी दोस्रो कार्यकालका लागि उम्मेदवार बनेका हुन्।
अध्यक्षका उम्मेदवार रवीन्द्रले ३ हजार १५५ मत पाउँदा एमालेका डम्बरबहादुर गिरीले १ हजार ९७३ मतसहित पछ्याइरहेका छन्। कांग्रेसका तुलसीप्रसाद ओलीले ६१४ र माओवादी केन्द्रका भवानीप्रसाद दंगालले २२४ मत पाएका छन्।
उपमेयरमा पनि राप्रपाले फराकिलो अग्रता बनाएको छ। राप्रपाकी लक्ष्मीदेवी मैनालीले २ हजार ४२२ मत ल्याउँदा एमालेकी शान्तादेवी गौतमले १ हजार ९८९ मत पाएकी छिन्। स्वतन्त्र उम्मेदवार लखन हेमरमले ७२८ मत पाएका छन्।
राजेन्द्र लिङदेनकै निर्वाचन क्षेत्रमा पर्ने कचनाकवलमा भने राप्रपा दास्रो स्थानमा छ। यहाँ राप्रपाविरुद्ध कांग्रेस र एमालेले तालमेल गरेका छन्।
यहाँ राप्रपाका उम्मेदवार तथा निवर्तमान पालिका अध्यक्ष अन्जार आलम पछि परेका छन्। उनले २ हजार ७१६ मत पाउँदा एमालेको समर्थनमा उम्मेदवार बनेका कांग्रेसका कालेन्द्रप्रसादसिंह राजवंशीले ५ हजार ३९३ मत पाएका छन्।
यही निर्वाचन क्षेत्रको भद्रपुर नगरपालिकामा भने राप्रपा तेस्रो स्थानमा छ। मेयरमा कांग्रेसका गणेश पोखरेलले ४ हजार ३०२ मत पाउँदा एमालेका असारु राजवंशीले ३ हजार ४९५ र राप्रपाका नवराज पनेरुले २ हजार ८०८ मत पाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।