काठमाडौं- पाल्पामा एमालेले सत्ता गठबन्धनलाई पराजित गर्दै दुई वटा पालिकामा ‘क्लीन स्वीप’ गरेको छ। अहिलेसम्म घोषणा भएकामध्ये निस्दी र पूर्वखोलामा एमालेका कोही पनि उम्मेदवार पराजित भएनने भने तिनाउ गाउँपालिकामा पनि अध्यक्षसहित बहुमत वडामा जित हासिल गरेको छ।
पूर्वखोला गाउँपालिकामा एमालेका नुनबहादुर थापा ६ हजार ३९ मतसहित विजयी भए। उनका प्रमुख प्रतिद्वन्द्वी गठबन्धनबाट उम्मेदवार बनेका एकीकृत समाजवादीका मिन प्रसाद गिरीले १ हजार २५७ मत पाए। उपाध्यक्षमा एमालेकी भागिरथि शर्मा (भट्टराई)ले ५ हजार ८९४ मतसहित निर्वाचित हुँदा कांग्रेसकी विष्णुकुमारी आचार्यले २ हजार २५० मत पाइन्। यो पालिकाका ६ वटै वडामा एमाले प्यानलसहित विजयी भयो।
निस्दी गाउँपालिकामा एमालेका मुक्तबहादुर सारुले ६६५२ मतसहित विजय प्राप्त गरे। उनका प्रमुख प्रतिश्पर्धी कांग्रेसका गोविन्दप्रसाद अर्याल उपाध्यायले ३ हजार ४६६ मत प्राप्त गरे। उपाध्यक्षमा एमालेकी तिरनकुमारी श्रेष्ठले ६ हजार ६३८ मत पाउँदा माओवादी केन्द्रका रामप्रसाद खत्रीले ८३० मत मात्रै प्राप्त गरे। यो गाउँपालिकाका सातै वडामा एमाले प्यानलसहित विजयी भयो।
पाल्पाको तिनाउ गाउँपालिकामा एमालेका प्रेम श्रेष्ठ गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका राजेश श्रेष्ठलाई पराजित गर्दै अध्यक्ष निर्वाचित भएका छन्। प्रेमले
५ हजार ९० मत पाउँदा राजेशले ४ हजार ४६६ मत पाए।
उपाध्यक्षमा भने कांग्रेसका लालबहादुर थापा ५ हजार ८२ मतसहित निर्वाचित भए। एमालेकी सावित्रा गुरुङ्ग रानाले ४ हजार ४६५ मत पाइन्। यो गाउँपालिकाका ६ मध्ये एमालेले चार वटा वडामा जित हासिल गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।