काठमाडौं– सिके राउत नेतृत्वको जनमत पार्टीले सप्तरी जिल्लाका विभिन्न स्थानीय तहमा गरी चार वडाध्यक्षमा जित हात पारेको छ।
महादेवा गाउँपालिकाको ७ नम्बर वडामा जनमत पार्टीका जागेश्वर प्रसाद इसर विजयी भएका छन्। इसर ९ सय ६६ मतसहित वडाध्यक्षमा विजयी भएका हुन्। उनका प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टीका अमरलाल मण्डलले ६ सय ९ मत ल्याए।
वलान–विहुल गाउँपालिकाको १ नम्बर वडामा पनि जनमत पार्टीका रामकुमार यादव विजयी भएका छन्। ३ सय ९५ मत ल्याएर उनी विजयी भएका हुन् । उनका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार प्रमोदकुमार यादवले ३ सय २६ मत ल्याए।
सप्तरीकै हनुमाननगर कंकालिनी नगरपालिकामा पनि जनमत पार्टीका सुरेन्द्र मण्डल वडाध्यक्षमा विजयी भएका छन्। वडा नम्बर १ का मण्डलले १ हजार ६ सय ७० मत ल्याएर जित हात पारे । उनका प्रतिस्पर्धी जनता समाजवादी पार्टीका गजेन्द्रप्रसाद माझीले ४ सय ८४ मत ल्याए।
कंकालिनीकै ४ नम्बर वडामा पनि जनमत पार्टीका मौलीकुमार मण्डल विजयी भएका छन्। ७ सय ५७ मत ल्याएर मण्डल वडाध्यक्षमा विजयी भएका हुन्। उनका प्रतिस्पर्धी जनता समाजवादीकै योगेन्द्रप्रसाद साहले ६ सय ५० मत ल्याए।
यो नगरपालिकामा जनमत पार्टीले नै अग्रता बनाएको छ। जनमत पार्टीका वीरेन्द्र माझी ५ हजार ५ सय ८२ मतसहित अग्रस्थानमा छन्। उनलाई जनता समाजवादीका शैलेशकुमार साह ४ हजार ८ सय ८२ मतका साथ पछ्याइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।