काठमाडौं– सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)का झम्कनाथ नेपाल विजयी भएका छन्।
मंगलबार सम्पन्न मतगणनामा उनी ७१२७ मतसहित गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विकास लामाले ६१५२ मत मात्रै पाए।
२०७४ को स्थानीय तह निर्वाचनमा नेपाल कांग्रेसका वंशलाल तामाङसँग २०० मतले पराजित भएका थिए। तामाङले ५३६५ मत ल्याउँदा नेपालले ५१६५ मत मात्रै ल्याएका थिए।
नेपालले यसपटक कांग्रेसका उम्मेदवारभन्दा ९७५ मत बढी ल्याएर विजय हासिल गरेका हुन्।
यस्तै, नेकपा माओवादीका ठूलोबाबु श्रेष्ठले ४१३४ मत पाए। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का बिष्णु मैनालीले ३२६ र नेकपा (मार्क्सवादी लेनिनवादी)का केशवप्रसाद आचार्यले ७६ मत पाए।
उपाध्यक्षतर्फ पनि एमालेले नै जित हात पारेको छ। एमालेकी शोभना तामाङ ६५१३ मत ल्याएर विजयी बनिन्। निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी दयाकुमारी मिश्रले ६३६३ मत पाइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।