काठमाडौं– रोल्पाका १० मध्ये एक स्थानीय तहको मत परिणाम आउन बाँकी हुँदा माओवादी केन्द्रले सर्वाधिक सात वटामा जित हासिल गरेको छ। कांग्रेसले दुई पालिकामा विजय हासिल गरेको छ।
अब त्रिवेणी गाउँपालिकाको मत परिणाम आउन बाँकी छ। माओवादी केन्द्रले थवाङ, परिवर्तन, माडी, लुङ्ग्री, सुनिल स्मृति र सुनछहरी गाउँपालिका तथा रोल्पा नगरपालिका जित हासिल गरेको छ। कांग्रेसले रुन्टीगढी र गंगादेव गाउँपालिकामा जित हात पारेको छ।
रोल्पाका तीन स्थानीय तहमा मात्र गठबन्धन भएको थियो। सुनछहरी गाउँपालिकामा विप्लव नेतृत्वको नेकपालाई एमाले र कांग्रेसले समर्थन गरेको थियो। त्यस्तै, माडी गाउँपालिकामा एमाले र कांग्रेसबीच तालमेल भएको थियो भने गंगादेव गाउँपालिकामा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच गठबन्धन भएको थियो।
गठबन्धन भएकामध्ये सुनछहरी गाउँपालिकामा माओवादी केन्द्रले जित हासिल गरेको छ। माओवादी केन्द्रका धनबहादुर पुन मगर ३ हजार ४३९ मतसहित निर्वाचित भएका छन्। गठबन्धनबाट स्वतन्त्र उम्मेदवार बनेका विप्लव नेतृत्वको नेकपाका पुस्तमन घर्तीमगर १५ सय २३ मतसहित पराजित भएका छन्।
एमाले र कांग्रेसबीच तालमेल भएको माडी गाउँपालिकामा माओवादी केन्दै विजयी भएको छ। माओवादी केन्द्रका अमरसिंह घर्ती मगरले ३ हजार ८३० मतसहित जित हात पर्दा गठबन्धनका विजयकुमार घर्ती मगरले ३ हजार ३८१ मत पाए।
माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धन रहेको गंगादेव गाउँपालिकामा माओवादीका वीरबहादुर खत्री पराजित भएका छन्। गाउँपालिका अध्यक्ष कांग्रेसका हरिबहादुर पुन २ हजार ५५७ मतसहित निर्वाचित भएका छन्। एमालेका रोशनकुमार वली २ हजार ४९९ मतसहित दोस्रो भए।
रोल्पामा अघिल्लो स्थानीय तहको निर्वाचनमा पनि माओवादी केन्द्रले सात स्थानीय तहमै जित हात पारेको थियो। साबिकको सुवर्णावती गाउँपालिका (हाल सुनिल स्मृति गाउँपालिका), सुनछहरी गाउँपालिका, साबिकको सुकिदय गाउँपालिका (हाल गंगादेव गाउँपालिका), रोल्पा नगरपालिका, माडी गाउँपालिका, साबिकको दुईखोली गाउँपालिका (परिवर्तन गाउँपालिका) र थवाङ गाउँपालिकामा माओवादीले जित हासिल गरेको थियो।
अघिल्लो पटक कांग्रेसले रोल्पाको एउटा मात्र स्थानीय तहमा जित हात पारेको थियो। कांग्रेसले लुङग्री गाउँपालिकामा जित्दा एमालेले दुई स्थानीय तह रुन्टिगढी र त्रिवेणी गाउँपालिकामा जित हात पारेको थियो।
रोल्पाका कुन स्थानीय तह कसको पोल्टोमा?
सुनिल स्मृति गाउँपालिका अध्यक्ष पदमा माओवादी केन्द्रका मणिराम बुढाथोकी निर्वाचित भएका छन्। उनले ६ हजार ६२ मत प्राप्त गरे। उनका प्रतिस्पर्धिका रुपमा नेपाली कांग्रेसका गन्जबहादुर क्षेत्रीले ३ हजार ८९३ मत प्राप्त गर्दै पराजित भएका छन्।
गाउँपालिकाको उपाध्यक्षमा पनि माओवादी केन्द्रकै जित भएको छ। उपाध्यक्षमा माओवादी केन्द्रकी मिना थापा ६ हजार ३७ मतसहित निर्वाचित भएकी छिन्। उनकी निकटतम् प्रतिस्पर्धी तेजकुमारी विष्टले ३४ सय मत पाएकी छिन्।
थवाङ गाउँपालिकामा माओवादी केन्द्रका ऋषि केशव बुढामगरले २ हजार १२२ मत ल्याएर निर्वाचित भए। उनका निकटतम् प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार दलजित रोकाले १ हजार ५०६ मत प्राप्त गरे। उपाध्यक्षमा माओवादी केन्द्रकै शर्मिला बुढामगरले २ हजार १२२ मत प्राप्त गरेकी छिन्। निकटतम् प्रतिश्पर्धी स्वतन्त्र उम्मेदवार रायबहादुर पुनले १ हजार ४६८ मत प्राप्त गरेका छन्।
परिवर्तन गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका सुकबहादुर बुढा मगरले ३ हजार ३११ मत ल्याउँदा निकटतम् प्रतिस्पर्धी कांग्रेसका विश्वकुमार चन्दले ३ हजार १२९ मत पाएका छन्। उपाध्यक्षमा माओवादीकै कालादेवी खत्रेनी ३ हजार ३८७ मत ल्याउँदै निर्वाचित हुँदा एमालेकी सपना रोका (घर्ती) मगरले २ हजार ३४८ मत प्राप्त गरिन्।
माडी गाउँपालिकामा माओवादी केन्द्रका अमरसिंह घर्तीमगरले ३ हजार ८३९ मत पाएर अध्यक्षमा विजयी हुँदा निकटतम् प्रतिस्पर्धी एमालेका विजयकुमार घर्ती मगरले ३ हजार ३८१ मत प्राप्त गरे। उपाध्यक्षमा पनि माओवादीकै जयपुरी घर्तीमगरले ३ हजार ९६६ मत ल्याएर विजयी भइन्। उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका कृष्णबहादुर विकले ३ हजार ३० मत ल्याए।
उता रुन्टीगढी गाउँपालिकामा कांग्रेसका जनक पुन ४ हजार ३९१ मतसहित निर्वाचित भए। उनका निकटतम् प्रतिस्पर्धी माओवादी केन्द्रका गोविन्द पुन मगरले ३ हजार ७०८ मत पाएर उपाध्यक्षमा पनि कांग्रेसकै सरिता केसीले ४ हजार ४३७ मत पाएर विजयी हुँदा माओवादीकी हस्तमाली बाँठामगरले ३ हजार ६३६ मत प्राप्त गरिन्।
रोल्पा नगरपालिकामा माओवादी केन्द्रका सुरेन्द्र थापा (घर्ती)ले ७ हजार ६०३ मतसहित विजयी हुँदा निकटतम् प्रतिस्पर्धी कांग्रेसका शेरबहादुर थापाले ३ हजार ६५८ मत पाए। उपमेयरमा माओवादी केन्द्रकै गिता आचार्यले ७ हजार ७४१ मत पाउँदा निकटतम् प्रतिस्पर्धी कांग्रेसकी पुष्पा श्रेष्ठले ३ हजार ७१९ मत प्राप्त गरिन्।
लुङग्री गाउँपालिकामा माओवादी केन्द्रका भरतकुमार थापाले ४ हजार ९३४ मत पाउँदा निकटतम् प्रतिश्पर्धी कांग्रेसका जनक खड्काले ४ हजार २९९ मत पाए। उपाध्यक्ष पदमा पनि माओवादी केन्द्रकै जित भएको छ।
गंगादेव गाउँपालिकाको अध्यक्षमा कांग्रेसका हरिबहादुर पुन २ हजार ५५७ मतसहित विजयी हुँदा एमालेका रोशनकुमार वलीले २ हजार ४९९ मत पाए। गाउँपालिका उपाध्यक्ष पनि कांग्रेसले नै जितेतको छ।
सुनछहरी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवैमा माओवादी केन्द्रले जित हासिल गरेको छ। माओवादी केन्द्रका धनबहादुर पुन मगर ३ हजार ४३९ मतसहित निर्वाचित हुँदा गठबन्धनबाट स्वतन्त्र उम्मेदवार भएका विप्लव नेतृत्वको नेकपाका पुस्तमन घर्तीमगर १५ सय २३ मतसहित पराजित भए। उपाध्यक्षमा पनि माओवादीकै ननकला घर्ती विजयी भइन्।
त्रिवेणी गाउँपालिकाको भने मतगणना जारी छ। हालसम्म यहाँ एमालेले अग्रता लिएको छ। ७ मध्ये ६ वटा वडाको मत गणना हुँदा एमालेका कर्णबहादुर बाँठामगर अग्रस्थानमा छन्। उनले ३ हजार ८९३ मत प्राप्त गरेका छन्। माओवादी केन्द्रका रेशन पुन ३ हजार ७०८ मतसहित उनलाई पछ्याइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।