चितवन-माडी नगरपालिकाको प्रमुखमा एमाले उम्मेदवार ताराकुमारी काजी महतो विजयी भएकी छन्। नौ हजार ९०१ मत ल्याएर उनी विजयी भएकी हुन्। माओवादी केन्द्रका ऋषि काफ्लेले सात हजार ७२९ मत प्राप्त गरे। ताराकुमारी २०७४ को स्थानीय तह निर्वाचनमा चार हजार ६९० मतका साथ उपप्रमुखमा निर्वाचित भएकी थिइन्।
उपप्रमुखमा नेपाली कांग्रेसका खेमप्रसाद महतो निर्वाचित भए। उनले आफ्ना निकटतम प्रतिस्पर्धी राप्रपाका मदनप्रसाद पौडेललाई एक हजार ६९० मतअन्तरले पराजित गरेका हुन्। महताेले ६ हजार ८३० मत प्राप्त गर्दा राप्रपाका पौडेलले पाँच हजार १४० मत प्राप्त गरे। उपप्रमुखमा स्वतन्त्र उम्मेदवार कृष्णप्रसाद पौडेलले तीन हजार ८६ मत ल्याए। महतो यसअघिको स्थानीय तहको निर्वाचनमा माडी नगरपालिकामा प्रमुख पदमा झिनो मतले पराजित भएका थिए।
एमालेले सो पालिकामा एक वडाध्यक्षसहित प्रमुख र कांग्रेसले उपप्रमुख मात्र जित्न सफल भएको छ । वडाहरुमा माओवादी केन्द्रले चार वटा, एकीकृत समाजवादीले दुईवटा र राप्रपाले दुई वटामा विजयी हासिल गरेका छन् । माडीमा २० हजार ४९६ मत खसेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।