वीरगञ्ज–पर्साको वीरगञ्ज महानगरपालिकाको पछिल्लो मतगणनाअनुसार प्रमुख पदमा गठबन्धनका उम्मेदवार राजेशमान सिंहले चार हजार ६५९ मतान्तरसहित अग्रतालाई निरन्तरता दिएका छन्।
जसअनुसार सिंह आठ हजार ४७५ मतसहित अगाडि छन् भने एमालेका उम्मेदवार विजयकुमार सरावगीले तीन हजार ८१६ मतसहित सिंहलाई पछ्याइरहेका छन्। महानगरपालिकाको पछिल्लो मतगणनाअनुसार वीरगञ्ज महानगरपालिका–१, ३१ र ३२ को मतगणना सकिएको छ भने वडा नं २, ३, ४, ५, २९ र ३० को मतगणना जारी छ ।
मतगणना गर्न लामो समय लाग्ने भएका कारणले अन्तिम नतिजा आउन एक साता लाग्नेछ । महानगरपालिका नेतृत्वका लागि नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) को गठबन्धनले सिंहलाई उम्मेदवार बनाएको छ भने एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच अर्को गठबन्धनले निवर्तमान प्रमुख सरावगीलाई उम्मेदवार बनाएको हो । यद्यपि पर्साका वीरगञ्ज महानगरपालिका बाहेकका अन्य पालिकामा राजनीतिक दलहरुबीच खासै तालमेल भएको छैन।
पर्सामा मधेस प्रदेशको एक मात्र महानगरपालिका, वीरगञ्ज महानगरपालिकासहित अन्य तीनवटा नगरपालिका र १० वटा गाउँपालिका रहेका छन् । पर्साका अन्य पालिकाहरुमा पनि मतगणना जारी छ ।
जिल्लाका १४ वटै पालिकामा मतगणनाका लागि मतगणनास्थलमा आवश्यक फलामे तारजालीसहित सिसिटिभी जडान गरी व्यवस्थापना मिलाइएको छ। पर्सा जिल्लामा रहेका कूल १४ वटा पालिकाको विभिन्न पदको जनप्रतिनिधिका निर्वाचनका लागि कूल तीन हजार २९७ जना चुनावी प्रतिस्पर्धामा रहेका हुन्। पर्सामा हाल एक लाख ४८ हजार २८३ महिला र एक लाख ९१ हजार ५३७ जना पुरुष र १६ जना तेस्रो लिङ्गी गरी तीन लाख ३९ हजार ८३६ जना मतदाता थिए।
दुई वडामा जसपा र एकमा एमाले विजयी
वीरगञ्ज महानगरपालिकाका दुई वडामा जसपा र एउटा वडामा एमालेका वडाध्यक्ष प्यानलसहित विजयी भएका छन् । वीरगञ्ज–१ मा जसपाका उम्मेदवार मनोज राउत कुर्मी, वडा नं ३२ मा जसपाकै रेयाज अहमद मिया र वडा नं ३१ मा एमालेका जितेन्द्र यादव वडाध्यक्ष पदमा निर्वाचित भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।