गुल्मी– गुल्मीका सबै (१२ वटा) स्थानीय तहको मतगणना सकिएको छ। नेपाली कांग्रेसले ५ वटा स्थानीय तह, नेकपा माओवादी केन्द्रले ४ र नेकपा एमालेले ३ वटा स्थानीय तहमा जित हात पारेका छन्।
चारवटा स्थानीय तहमा एमालेले उपप्रमुख जितेको छ भने २ वटा स्थानीय तहमा नेपाली कांग्रेसले उपप्रमुख जितेको हो। नेपाली कांग्रेस विजयी भएका स्थानीय तहहरुमा रेसुङ्गा नगरपालिका, मदाने, गुल्मीदरबार, कालीगण्डकी र ईस्मा गाउँपालिकामा रहेका छन्।
माओवादी केन्द्र विजयी भएका स्थानीय तहमा धुर्कोट, चन्द्रकोट, रुरुक्षेत्र र मालिका गाउँपालिका रहेका छन्। त्यस्तै, नेकपा एमाले विजयी भएका स्थानीय तहमा छत्रकोट, सत्यवती गाउँपालिका र मुसिकोट नगरपालिका रहेका छन्।
नेपाली कांग्रेसले उपप्रमुख जितेका स्थानीय तहहरुमा चन्द्रकोट र मालिका गाउँपालिका रहेका छन्। यस्तै, एमालेले मदाने, धुर्कोट, कालीगण्डकी र रुरुक्षेत्र गाउँपालिकामा उपप्रमुख जितेको छ।
जिल्लाका १२ वटा स्थानीय तह र ९३ वटै वडामा मतगणना सम्पन्न भएको हो। ९३ वटा वडाहरुमध्ये नेपाली कांग्रेसले ४७ वडाअध्यक्ष जितेको छ।
नेकपा एमालेले ४० वटा वडाअध्यक्ष जितेको छ। माओवादी केन्द्रले ४ वटा वडाअध्यक्ष जितेको छ। राष्ट्रिय जनमोर्चाले एउटा र स्वतन्त्र उम्मेदवारले एउटा वडाअध्यक्ष जितेको छ।
२०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा नेकपा एमालेले ७, नेपाली कांग्रेसले ४ र माओवादी केन्द्रले एक स्थानीय तहमा अध्यक्ष जितेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।