काठमाडौं– चाँगुनारायण नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार जीवन खत्री विजयी भएका छन्। एमालेका बिणा बाँस्तोलालाई झिनो अन्तरले पराजित गर्दै उनी विजयी भएका हुन्।
नगरप्रमुखमा कांग्रेसका उम्मेदवार खत्रीले ९ हजार ५५० मत प्राप्त गरी विजयी भएका हुन्। उनको निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार बाँस्तोलाले ९ हजार १६० मत प्राप्त गरिन्। पराजित बाँस्तोला यसअघि चाँगुनारायण नगरपालिकाको उपप्रमुख हुन्।
त्यसैगरी, उपप्रमुखमा भने एमालेका रमेश बुढाथोकी विजयी भएका छन्। बुढाथोकीले ११ हजार १०७ मत प्राप्त गरी विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी उम्मेदवार सुभद्रा काफ्लेले ९ हजार ६७ मत प्राप्त गरे।
नगरप्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रवीन्द्रप्रताप शाहले ८ हजार ६७ मत प्राप्त गरे भने नेमकिपाबाट प्रमुखमा उम्मेदवारी दिएका केशवप्रसाद तिमिल्सनाले ३ हजार २६७ मत प्राप्त गरे। उपप्रमुखमा राप्रपाका मञ्जु कार्कीले ६ हजार ८६ मत र नेमकिपाका कल्पना लामाले ३ हजार ३७४ मत प्राप्त गरिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।