काठमाडौं– खोटाङका सम्पूर्ण पालिकाको मतगणना सकिएको छ। त्यहाँ कांग्रेसले ६, एमालेले २ र माओवादी केन्द्रले २ पालिकाको नेतृत्व जितेका छन्।
अन्तिम मत परिणाममा कांग्रेसले केपिलासगढी गाउँपालिका, बराहपोखरी गाउँपालिका, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, रावा बेसी गाउँपालिका, साकेला गाउँपालिका र हलेसी तुवाचुङ गाउँपालिकाको नेतृत्व जितेको छ।
२०७४ सालको निर्वाचनमा कांग्रेसले ऐंसेलुखर्क गाउँपालिका, दिप्रुङ चुइचुम्मा गाउँपालिका, बराहपोखरी गाउँपालिका र हलेसी तुवाचुङ नगरपालिकाको नेतृत्व जितेको थियो।
त्यस्तै, एमालेले दुई पालिकाको नेतृत्व जितेको छ। उसले ऐसेलुखर्क गाउँपालिका र दिप्रुङ चुइचुम्मा गाउँपालिका मात्रै जितेको हो। जबकि, एमालेले २०७४ सालमा पाँच पालिकाको नेतृत्व जितेको थियो। त्यतिबेला उसले केपिलासगढी गाउँपालिका, खोटेहाङ गाउँपालिका, जन्तेढुंगा गाउँपालिका, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र रावा बेसी गाउँपालिकाको नेतृत्व जितेको थियो।
यसपटक माओवादी केन्द्रले दुई पालिकाको नेतृत्व जितेको छ। उसले खोटेहाङ गाउँपालिका र जन्तेढुंगा गाउँपालिकाको नेतृत्व जितेको हो। जबकि, २०७४ सालको निर्वाचनमा उसले एउटा पालिकामा मात्रै जित निकालेको थियो। त्यतिबेला उसले साकेला गाउँपालिकामा मात्रै जित निकालेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।