काठमाडौं– संघीय राजधानी भएको काठमाडौं महानगरपालिकासहित अरु दुई ठूला सहर जनकपुरधाम र धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवारले फराकिलो अग्रता बनाइरहँदा पाँच पालिकामा जित निकालिसकेका छन्। यीबाहेक अरु सात पालिकामा कतै अग्रस्थानमा छन् भने कतै बलियो प्रतिश्पर्धी छन्।
अहिलेसम्म भोजपुर, ओखलढुंगा, बैतडी र चन्दननाथका एउटा–एउटा तथा कालिकोटमा दुई वटा पालिकामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्। काठमाडौंमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले अहिलेसम्म निकटतम् प्रतिश्पर्धी रहेका केशव स्थापितलाई करिब ८ हजार मतले पछि पारिसकेका छन्। उता जनकपुरधाम र धनगढीमा पनि स्वतन्त्र उम्मेदवारको फराकिलो मतान्तर कायम गरेका छन्।
जनकपुरधाममा स्वतन्त्र उम्मेदवार मनोजकुमार साह सुडीले ३९५६ मत पाउँदा एमालेका शिवशंकर साहले २०८६ मत पाएका छन्। तेस्रो स्थानमा पनि स्वतन्त्र नै छन्। स्वतन्त्र उम्मेदवार बलराम महतोले १११३ मत पाएका छन्।
उता धनगढी उपमहानगरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले करिब ५ हजारको अग्रता बनाएका छन्। हमालले १० हजार ८२५ मत पाउँदा कांग्रेसका नृपबहादुर वडले ५१६६ मत पाएका छन्।
धरान उपमहानगरपालिकामा पनि स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ राईले बलियो चुनौती पेश गरिरहेका छन्। उनी थोरै मतान्तरमा दोस्रो स्थानमा छन्। अग्रस्थानमा ७७१७ मतसहित कांग्रेसका किशोर राई छन्। साम्पाङले अहिलेसम्म ७४६१ मत पाएका छन्। तेस्रो स्थानमा रहेकी एमालेकी मन्जु भण्डारीले ६४२५ मत पाएकी छिन्।
बर्दिबास नगरपालिकामा मेयर र उपमेयर दुवैमा स्वतन्त्र उम्मेदवार अगाडि छन्। स्वतन्त्र उम्मेदवार प्रह्लादकुमार क्षेत्रीले ७८३० मत पाउँदा माओवादी केन्द्रका राजु खड्काले ४०९५ मत पाएका छन्। उपमेयरमा स्वतन्त्रबाट उम्मेदवारी दिएकी तारा देवीले ५२५२ मत पाउँदा माओवादी केन्द्रकी कृष्णमाया गौतमले ३९१४ मत पाएकी छन्।
धुलिखेल नगरपालिकामा स्वतन्त्र उम्मेदवार दोस्रो स्थानमा छन्। तर, उनी एमाले उम्मेदवारभन्दा करिब २ हजार मतले पछाडि परेका छन्। एमालेका अशोककुमार ब्याञ्जु श्रेष्ठले ५७४८ मत पाउँदा स्वतन्त्र उम्मेदवार विदुरबहादुर बस्नेतले ३७०७ मत पाएका छन्।
उता डोल्पाको डोल्पोबुद्ध गाउँपालिकामा स्वतन्त्र उम्मेदवार दोस्रो स्थानमा छन्। यहाँ माओवादी केन्द्र र स्वतन्त्र उम्मेदवार मात्र प्रतिश्पर्धामा छन्। माओवादी केन्द्रका तेम्बा गुरुङले २५७ मत पाउँदा स्वतन्त्र उम्मेदवार कार्मा छोइवेल गुरुङले १६१ मत पाएका छन्।
झापाको कन्काई नगरपालिकामा स्वतन्त्रले चुनौती दिए पनि अहिले पछि परेका छन्। त्यहाँ एमालेका राजेन्द्रकुमार पोखरेलले ८६७३ मतसहित अग्रता लिइरहँदा कांग्रेसका रुद्रप्रसाद चिमरियाले ६६६१ मतसहित पछ्याइरहेका छन्। तेस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार शेरबहादुर थापाले ५६९१ मत पाएका छन्।
पछिल्लो मत परिणामअनुसार जुम्लाको चन्दननाथ नगरपालिकामा स्वतन्त्र उम्मेदवार राजु सिंह कठायत मेयरमा निर्वाचित भएका छन्। कठायतले २४०३ मत पाउँदा उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका पदमबहादुर शाहीले २३२२ मत ल्याए।
भोजपुरको साल्पासिलिछोमा स्वतन्त्र उम्मेदवार दौलथकुमार कुलुङले एमाले र कांग्रेस उम्मेदवारलाई पराजित गरे। एमालेले टिकट नदिएपछि उनी बागी उठेका थिए। कुलुङले १८१४ मत पाउँदा निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका महेश राईले १७८६ मत पाए। एमालेका शान्तिबहादुर अधिकारीले १३८३ मत पाए।
ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवार ज्ञानेन्द्र रुम्दाली निर्वाचित भएका छन्। रुम्दालीले ५०२१ मत पाउँदा उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका रुपलाल तामाङले ३८१५ मत प्राप्त गरे। रुम्दालीलाई कांग्रेसको समर्थन थियो।
बैतडीको डिलासैनी गाउँपालिकामा स्वतन्त्र उम्मेदवार सन्तोषप्रकाश जोशीले ३१८९ मतसहित विजय प्राप्त गरे। उनका निकटतम् प्रतिश्पर्धी माओवादी केन्द्रका लोकेन्द्र रानाले २६५१ मत पाए।
त्यसैगरी कालिकोटका खाँडाचक्र र सान्नीत्रिवेणीमा स्वतन्त्र उम्मेदवारले जित हासिल गरेका छन्। खाँडाचक्रमा स्वतन्त्र उम्मेदवार कमलबहादुर शाहीले २९१९ मत पाउँदा एमालेका जेसीप्रसाद पाण्डेले २६०९ मत पाए। त्यस्तै सान्नीत्रिवेणीमा स्वतन्त्र उम्मेदवार मोहनबहादुर केसीले १८२२ मत पाउँदा माओवादी केन्द्रका माओवादी केन्द्रका डम्बरबहादुर शाही १३२५ मत पाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।