काठमाडौं– पाँच वर्षअघिको स्थानीय निर्वाचनमा कांग्रेसले धनकुटामा कुनै पनि पालिका जित्न सकेको थिएन। तर, यसपटक माओवादी केन्द्र, समाजवादी र जसपासँगको गठबन्धनमा चार वटा पालिका जितेको छ। एमाले भने तीन वटामा खुम्चिएको छ।
सात वटा पालिका रहेको धनकुटामा माओवादी केन्द्र र एकीकृत समाजवादीले एउटा एउटा र बाँकी पाँच वटामा कांग्रेसले प्रमुख पदको उम्मेदवार भागबन्डा गरेका थिए। कांग्रेसले आफ्नो भागमा परेका पाँचमध्ये चार वटामा प्रमुख जित्दा गठबन्धनका अन्य दल पराजित भए।
एउटा पालिकामा उपप्रमुख पाएको जसपा पनि पराजित भएको छ। एकीकृत समाजवादी पालिका प्रमुख र उपप्रमुख दुवैमा रित्तो हुँदा माओवादीले एउटा उपप्रमुख जितेको छ।
कांग्रेसले पालिका प्रमुख जितेका चारमध्ये तीन वटामा एमालेले नै उपप्रमुख जितेको छ। एउटामा भने माओवादी केन्द्रले जित हासिल गरेको छ।
पछिल्लो पटक सार्वजनिक भएको नतिजाअनुसा छिन्ताङ सहिदभूमि गाउँपालिकामा एमालेका मनोज राई दोस्रो कार्यकालका लागि विजयी भएका छन्। उनले ४ हजार २१४ मत प्राप्त गर्दा निकटतम् प्रतिद्वन्द्वी एकीकृत समाजवादीका जितबहादुर राईले ४ हजार २७ मत पाए।
उपाध्यक्षमा एमालेकी रत्नश्वरी राईले ४ हजार ६७२ मत पाउँदा निकटतम् प्रतिद्वन्द्वी तोर्णबहादुर खड्काले ३ हजार ३७१ मत पाए। यो पालिकामा समेटिएका तत्कालीन तीन गाविसहरूमा २०४९ साल यताका स्थानीय निर्वाचनमा एमालेबाहेक अन्य दलले विजय हासिल गर्न सकेका थिएनन्।
त्यसअघि धनुकटा नगरपालिकाको मेयरमा एमालेका चिन्तन तामाङ दोस्रो कार्यकालका लागि निर्वाचित भएका थिए। उनले कांग्रेसका दिनेश राईलाई १४ मतले पराजित गरे। तामाङले ७ हजार ६६६ मत पाउँदा राईले ७ हजार ६५२ मत पाए।
अघिल्लो निर्वाचनमा पनि तामाङ र राई नै प्रतिश्पर्धी थिए। त्यति बेला राई ११४ मतले पराजित भएका थिए। गठबन्धन गरेर अहिले उपमेयरमा उम्मेदवार भएका गणेश विष्ट त्यति बेला माओवादी केन्द्रबाट मेयरका उम्मेदवार थिए। धनकुटामा उपमेयरमा पनि एमालेकी भीमादेवी खनाल विजयी भएकी छिन्।
त्यसैगरी, चौबिसे गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमाले विजयी भएको छ। त्यहाँ एमालेका राजकुमार लिम्बुले ५ हजार ३८ मत पाएर अध्यक्ष निर्वाचित हुँदा माओवादी केन्द्रका दलबहादुर रानाले ३ हजार ९९१ मत पाए। उपाध्यक्षमा एमालेकै टंकमाया पाङ्मी विजय भइन्।
केपी ओलीले अघिल्लो स्थानीय तह निर्वाचनमा ‘म्यान अफ द इलेक्सन’ घोषणा गरेका राजेन्द्र राईकै गृहनगर धनकुटाको पाख्रिबासमा भने एमाले पराजित भएको छ। अघिल्लो निर्वाचनमा पाख्रिबास नगरपालिकामा एमालेले ‘क्लीन स्वीप’ नै गरेको थियो। तर, यसपटक मेयरमा गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका ज्ञानबहादुर गुरुङ ५ हजार ४९८ मतसहित विजयी भए। उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका भीमबहादुर राईले ५ हजार ५३ मत पाए।
उपमेयरमा भने एमालेकी नम्रता गौतम विजयी भइन्। वडामा भने कांग्रेस र एमालेले समान पाँच वटामा जित हासिल गरे। यो पालिका राप्रपाबाट कांग्रेस प्रवेश गरेका नेता सुनिलबहादुर थापाको पनि गृहनगर हो।
सागुरीगढी गाउँपालिका अध्यक्षमा कांग्रेसका जितेन्द्र राईले एमालेका कुमारजंग याक्खालाई करिब साढे ५०० मतान्तरले पराजित गरे। तर, एमालेकी मुना राईले गठबन्धनबाट उम्मेदवार बनेका जसपाका लीलाराज लावतीलाई ५०० भन्दा बढी मतान्तरले पराजित गरिन्।
छथर जोरपाटी गाउँपालिकामा पनि निवर्तमान अध्यक्ष शेरबहादुर लिम्बू कांग्रेसका अध्यक्षका उम्मेदवार छत्रबहादुर सुब्बासँग करिब २०० मतान्तरले पराजित भए। उपप्रमुख पनि गठबन्धनबाट उम्मेदवार भएकी माओवादी केन्द्रकी गिता गुरुङले एमालेकी गोमा कार्की दाहाललाई पराजित गरिन्।
महालक्ष्मी नगरपालिकामा गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका ध्रुवराज राया मेयरमा निर्वाचित भए। उनले एमालेका दीपक बुढाथोकीलाई पराजित गरे। उपमेयरमा एमालेकी मञ्जु कार्की अधिकारीले माओवादीका गठबन्धन उम्मेदवार प्रेम खड्कालाई पराजित गरिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।