काठमाडौं– कञ्चनपुरको वेदकोट नगरपालिकाको प्रमुख, उपप्रमुखसहित बहुमत वडामा नेपाली कांग्रेसले जित हासिल गरेको छ।
निर्वाचन आयोगले सार्वजनिक गरेको परिणाम अनुसार वेदकोटको प्रमुखमा नेपाली कांग्रेसका भोजराज बोहरा फराकिलो मतान्तरसहित विजयी भएका छन्।
बोहराले ८ हजार ७८ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्धन्द्वी नेकपा एमालेकी शुशिला सिंहले ४ हजार ७४० मत प्राप्त गरिन्। बोहरा यसअघि २०७४ को स्थानीय तहको निर्वाचनमा पनि नेपाली कांग्रेसबाट मेयरमा प्रतिस्पर्धा गरेका थिए। तर, उनी पराजित भएका थिए।
अहिले मेयरमा एमालेबाट प्रतिस्पर्धा गरेकी सिंह २०७४ मा एमालेबाटै उपमेयरमा निर्वाचित भएकी थिइन्।
त्यस्तै, नेकपा एमालेबाट छुट्टिएर बनेको नेकपा एसका उम्मेदवार रामचन्द्र रेग्मीले ३ हजार ८९८ मत प्राप्त गरे। उनलाई नेकपा माओवादी केन्द्रको समर्थन रहेको थियो।
यसैगरी, उपप्रमुखमा पनि नेपाली कांग्रेसकै तुलसी देवी जोशी ७ हजार २५४ मत ल्याएर निर्वाचित भएकी छन्। नेकपा एमालेकी पार्वती कुमारी भट्टले ५ हजार ७२७ मत प्राप्त गरिन्। नेकपा माओवादी केन्द्रकी हिरा जैशीले ३ हजार ६५२ मत प्राप्त गरिन्।
१० वडा रहेको यस नगरपालिकामा नेपाली कांग्रेसले बहुमत वडामा जित निकालेको छ। कांग्रेसले ५, नेकपा एमालेले २, नेकपा माओवादी केन्द्र २ र नेकपा एसले १ वडा जितेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।