जाजरकोट– नेपाली कांग्रेस जाजरकोटका सभापति वेदराज सिंहको गृहपालिका बारेकोट गाउँपालिकामा एमाले विजयी भएको छ।
बारेकोट गाउँपालिकाको अन्तिम मतपरिणाम अनुसार अध्यक्षमा नेकपा एमालेका वीरबहादुर गिरी ३ हजार ९५४ मतसहित निर्वाचित भए। गिरी एमाले जाजरकोटका सचिव समेत हुन्।
उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका महेन्द्रबहादुर शाहले ३ हजार ८४५ मत पाए। शाह गाउँपालिकाका निवर्तमान अध्यक्ष समेत हुन्।
यस्तै, गाउँपालिका उपप्रमुखमा भने नेकपा माओवादी केन्द्रका नरबहादुर गिरी निर्वाचित भएका छन्। उनले ३ हजार ६६३ मत पाए। उनका निकटतम् प्रतिस्पर्धी एमालेकी गीता कुमारी सिंहले ३ हजार ४०१ मत पाइन्।
बारेकोटमा कांग्रेस–माओवादीले चुनावी तालमेल गरेका थिए।
९ वडा रहेको बारेकोटमा एमालेले चार, कांग्रेसले तीन र माओवादीले एक वडाध्यक्ष जितेका छन्। एक वडामा भने स्वतन्त्र उम्मेदवार निर्वाचित भए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।