काठमाडौं– 'यो देशमा म यौटा मानिस खोजिरैछु' जस्ता लोकप्रिय गीतका गायक शिशिर योगीले भक्ति सङ्गीतमा पनि कदम अगाडि बढाएका छन्।
राष्ट्रप्रेम, जीवनदर्शन र करुण रसका मार्मिक गीत गाउँदै आएका शिशिरले भक्तिधारा अन्तर्गत पनि वैदिक मन्त्र गायनमा आफ्नो ओजस्वी आवाजको जादु पस्केका छन्। प्रायः भारतीय कलाकारका स्वरमा भजन र मन्त्र सुन्न अभ्यस्त नेपाली श्रोता दर्शकलाई शिशिरको स्वरले नेपालीपनको मिठास दिने छ।
‘भारतमा भक्तिसङ्गीतको विधा निकै फराकिलो छ। त्यहाँ भक्ति सङ्गीत मूलधारको सङ्गीत जस्तै उर्वर छ। नेपालमा भने कर्मकाण्डी र कामचलाउ जस्तो मात्र बनेको भक्ति सङगीतमा शिशिरको प्रवेशले यसका पारखीलाई केही राहत दिने निश्चित छ,’ संगीतकार नोर्बु शेर्पाले भने।
भक्ति सङ्गीतको यस चरणमा गणेश मन्त्र, गायत्री मन्त्र, शनि मन्त्र र शनिको बीज मन्त्र गरी चारओटा तयार भएका छन्। उच्चकोटिको सङ्गीत, खारिएको आवाज र श्रुतिमधुर शब्दले श्रोतालाई आनन्दको सागरमा डुबाउँछन्।
शिशिर यी सबै मन्त्रमा एक किसिमको जादू भर्न सफल भएका छन्। गणेश मन्त्रमा मौलिक सङ्गीतको स्वरूप छ। हुन त हामीले ‘ॐ गं गणपतेय नमो नम:' लाई भारतीय कलाकारको आवाजमा धेरै पल्ट सुनिसकेका छौँ। शिशिरले यसमा हृदयको आवाज निकालेर नेपाली मिठास भरेर गाउने कोसिस गरी हृदयस्पर्शी गायन प्रस्तुत गरेका छन्। करुणरसको प्रयोगले यसमा थप स्वाद दिएको छ।
‘निलांजन समाभासम्..’ बोलको शनि मन्त्रमा भक्ति र करुण रसको संयोजन भएको छ। शनिको बीज मन्त्रमा भने भक्ति, करुण र वीर रसको त्रिवेणी पाइन्छ। साथै गायत्री मन्त्रलाई पनि निकै मिहिनेत गरेर सुललित आवाजमा पस्किएका छन्।
सबै मन्त्रमा शिशिरले सङ्गीत भरेका छन् भने उनलाई आवाजमा सलिना विक र उनकै सुपुत्री श्रुति योगीले साथ दिएका छन्। यी मन्त्रमा सङ्गीत संयोजनमा पनि बढी मिहिनेत गरेको देखिन्छ। नोर्बु शेर्पाले सबै मन्त्रमा सङ्गीत संयोजन गरेका छन्।
ध्वनि सम्पादनको काम प्रकाश मिश्रले गरेका हुन् भने दृश्य सम्पादन वीरेन्द्र भाट ‘विपीन’ ले गरेका छन्। रेकर्डिस्टका रुपमा अजय कार्की रहेका छन्। शिशिरको यस पालिको कर्म पृथक देखिन्छ। उनले तन, मन, बुद्धि र वर्कतको प्रयोग गरी नयाँ मार्गमा लाग्न ठूलो परिश्रम गरेका छन्।
यी मन्त्रहरू शिशिर योगीको अफिसियल युट्युब च्यानल https://www.youtube.com/shishiryogi बाट मङ्गलबार (१४ जुन) बिहान ८ बजेदेखि प्रसारण शुरु गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।