काठमाडौं– चर्चित गीत ‘रेलको बाटो आउँदै छ रे तिमी आउने शहरमा’को दोस्रो भागको रुपमा ‘सिंहदरबार’ नामक गीत सार्वजनिक भएको छ। सुरज पण्डितको गायनमा उक्त गीत मंगलबार सार्वजनिक भएको हो।
गीतमा सुदुरपश्चिमको कथा बोकिएको छ। भौगोलिक हिसाब मात्रै नभएर राजनीतिदेखि विकासका कारण पनि दुर सुदुरपश्चिमको कथा गीतको शब्द र भिडियो दुवैमा प्रस्तुत छ। राजनीति गर्ने स्थानीय एक युवकको चाहनाबाट सुरु भएको गीतको भिडियोमा राजनीति प्रति उत्पन्न वितृष्णादेखि स्थानीय तहको समस्याका पक्षहरु समेटिएका छन्।
गाउँ गाउँमा सिंहदरबार पुग्यो भन्ने कुरा नारा र कागजमा मात्रै सिमित भएको र गाउँहरु अझैं पनि आधारभूत जीवनयापनका पक्षहरुका लागि संघर्ष गर्नुपरेको पक्षलाई गीतले उजागर गरेको छ।
गीतको शब्द तथा संगीत पनि पण्डितले नै गरेका छन्। खानकै लागि संघर्ष गर्नेदेखि उपचारका लागि महिनौं कुनुपर्ने अवस्थाको चित्रण गीतको भिडियो र शब्द दुवैमा प्रस्तुत छ। राजनीतिमार्फत आफ्नो क्षेत्र बदल्ने चाहना राख्ने युवकको सपनामाथि भएको बज्रापातको कथालाई गीतमा समेटिएको छ।
गीतमा संगीतको एरेन्ज कमल सौरागले गरेका छन्। भिडियोलाई लक्षण सुनारले निर्देशन गरेका छन्। भिडियोमा गायक सुरज र अश्मिता सुनारले अभिनय गरेका छन्। पदम सुवेदीले सम्पादन गरेको भिडियोलाई निशाल पौडेलले खिचेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।