लण्डन- लामो समयदेखि लण्डनमा बसोबास गर्दै आएकी गायिका शर्मिला बर्देवाको नयाँ गीत 'यो मुटुको' सार्वजनिक भएको छ। युवा गीतकार रवी मल्लले लेखेका र युवा संगीतकार कल्याण सिंहको संगीतमा रहेको यो मुटुको बोलको गीत शनिबार गायिका बर्देवाको आफ्नै युट्युब च्यानलबाट रिलिज गरिएको हो।
शर्मिला बर्देवा अफिसियल युट्युब च्यानलबाट रिलिज भएको यो मुटुको म्युजिक भिडियो निर्देशन भने बेलायतमै बसोबास गर्दै आएका कलाकार तथा नृत्य निर्देशक प्रभु गुरुङले गरेका छन्। भिडियोमा सलिना थापामगर र सरोज केसी लगायत सुदेश गौचन र नरबहादुर गुरुङको समेत अभिनय रहेको छ।
भिडियोको छायाँकन र सम्पादन दुवै सुमन श्रेष्ठले गरेका हुन्। भिडियोको कलर ग्रेडिङ नवीन निरौलाले गरेका छन् भने श्रृङ्गार पुष्पा गुरुङले गरेकी छन्।एसबी वर्ल्ड म्युजिकको व्यानरमा गायिका बर्देवाका श्रीमान सरोज परियारले भिडियोको निर्माण गरेका हुन्।
थुप्रै म्युजिक भिडियोमा देखिएकी कलाकार सलिना थापा मगरले हालसालै मात्र सनम कुमार बैरागद्धारा निर्देशित चलचित्र कैदीको पत्रमा पनि अभिनय गरेकि छिन्। सामाजिक सञ्जाल टिक टकमा धुम मचाउन सफल कलाकार सरोज केसीको भने यो पहिलो डेब्यु म्युजिक भिडियो हो।
बर्देवाको आँखैमा झलझली हितैको दौँतरी, फूलको जवाफ पत्थरले दिनेलाई, मेरो हजुरलाई के दिउँनी भेट, निल काडाझै मन फुल्यो, रक्सी बेचे आलु बेचे, सर सर अलि ओर, हिउँचुलीमा हिउं, लगायत पार्श्व गायनमा आगो लाग्यो दिलैमा दमकल बोलाईदेउ, तस्वीरमै येस्तो, बेहुली हुने रहर, कान्तिपुरि हो कि यो हो प्रेम नगरी, चोली टिम्मिक्कै, सुनको बिहानि, मनकि चरी उडि उडि, बेला बज्यो कताकता जस्ता सयौं भन्दा बढी गीत चर्चित छन् ।
स्वदेश छाडेर विदेशिएता पनि गयिका बर्देवाले आफ्नो संगीत र भाषालाई निरन्तरता दिँदै आएकी छिन्। उनले आफ्नो स्वरले साथ दिइन्जेल क्रमश गीतहरु गाइनै रहने बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।