काठमाडौं– सवारीचालक अनुमतिपत्र (लाइसेन्स) लिन दिनुपर्ने प्रयोगात्मक (ट्रायल) परीक्षामा ७० अंक ल्याए पास हुने व्यवस्था लागु गर्ने तयारी गरिएको छ।
यो व्यवस्थाको सुरुवात बागमती प्रदेशबाट हुनेछ। आइतबार यातायात व्यवस्था सेवा कार्यालयको चाबहिल शाखाबाट उक्त व्यवस्थाको उद्घाटन हुने यातायात व्यवस्था सेवा कार्यालयका सूचना अधिकारी राजु अर्यालले जानकारी दिए।
यसका लागि सबै कार्यालयमा परिपत्र गरिसकिएको उनले जानकारी दिए। उनले भने, ‘आइतबार चाबहिलबाट उद्घाटन हुनेछ। उक्त व्यवस्था लागू गर्न परिपत्र गरिसकिएको छ।’
अर्यालका अनुसार प्रयोगात्मक परीक्षाका लागि अंकभार तय गरिएको छ। घुमाउरो ‘आठ’का लागि २० अंक, साँघुरो फलेकका लागि १० अंक, युटर्नमा १० अंक, ट्राफिक संकेतमा १५ अंक, बम्प्स (उबड–खाबड)मा १५ अंक, उकालोमा २० अंक र परीक्षार्थीको व्यवहारगत पक्षको समग्र मूल्यांकनका लागि १० अंक निर्धारण गरिएको छ।
यसरी घट्छ अंकभार
परीक्षार्थीको व्यवहारगत पक्षको समग्र मूल्यांकनमा सवारी चलाउनुपूर्व सवारीको ब्रेक, टायर र ऐनाहरूको सामान्य निरीक्षण नगरेमा तीन अंक घट्नेछ। हेलमेटको लक नलगाइ सवारी चलाएमा ४ अंक र अस्वाभाविक गतिमा वा असयंमित रूपमा सवारी चलाएमा ३ अंक घट्नेछ।
घुमाउरो आठको अंकभार २० अंक छ। जसमा घुमाउरो आठको एकपटकसम्म रेखा छोएमा र एकपटकसम्म खुट्टाले भुइँमा टेकेमा १० अंक घट्नेछ। यति हुँदैमा परीक्षार्थी फेल हुनेछैन। घुमाउरो आठमा एक पटकभन्दा बढी अंकित रेखा छोएमा, टायर रेखाभन्दा बाहिर गएमा, एक पटकभन्दा बढी खुट्टाले भुइँमा टेके, ठीक दिशाबाट वा ठीक तरिकाबाट आठ आकार नबनाएमा, सवारीको स्टार्ट बन्द भएमा फेल भएको घोषणा गरिनेछ।
साँघुरो फलेकको अंकभार १० रहेको छ। यसमा १० अंक नै अनिवार्य ल्याउनुपर्नेछ। यहाँ खुट्टाले भुइँमा टेकेमा, फलेकको लम्बाइ पार गर्नु अगावै सवारी फलेकबाट बाहिर निस्केमा स्वतः फेल हुनेछ। त्यस्तै, यू टर्नको अंकभार १० रहेको छ। टर्निङमा इन्डिकेटर लाइट नबालेमा १० अंक नै घट्नेछ। यू टर्नमा अंकित रेखा छोएमा पनि फेल हुनेछ।
ट्राफिक संकेत (लाइट)को अंकभार १५ रहेको छ। ट्राफिक लाइटको पालना नगरे १५ नम्बर नै काटिनेछ। स्पिड ब्रेकर वा हडल्सको अंकभार १५ रहेको छ। स्पिड ब्रेकरमा एकपटकसम्म खुट्टाले भुइँमा टेकेमा ५ र एकपटक सवारी स्टार्ट बन्द भएमा ५ नम्बर घट्नेछ। स्पिड ब्रेकरमा एकपटकभन्दा बढी भुइँमा टेकेमा वा सवारी स्टार्ट बन्द भएमा फेल हुनेछ।
यसबाहेक र्याम्प अर्थात् उकालोको अंकभार २० रहेको छ। उकालोमा कुनै गल्ती भए फेल हुनेछ। उकालोमा तोकिएको रेखा नाघेर सवारी रोकेमा वा सवारी नरोकी अगाडि बढेमा फेल हुनेछ।
रोकिएको अवस्थाबाट सवारी अगाडि बढाउँदा सवारीको पछाडिको टायर ६ इन्चभन्दा बढी पछाडि सरेमा, उकालो पार गरी ओरालोबाट झर्ने क्रममा तोकिएको रेखा नाघेर सवारी रोकेमा वा सवारी नरोकी अगाडि बढेमा र सवारीको स्टार्ट बन्द भएमा फेल हुनेछ। यसरी विभिन्न क्याटागोरीमा अंकभार निर्धारण गरिएको र त्यसमध्ये ७० अंक ल्याउनेले लाइसेन्स पाउनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।