काठमाडौं– प्रतिष्ठित रोमान्टिक ट्र्याक ‘माइ हर्ट विल गो अन’ (१९९७ को ब्लकबस्टर टाइटानिक) सँगै सम्पूर्ण पुस्ताका लागि रोमान्सको परिभाषा दिने पपस्टार सेलिन डियोनले आफूलाई स्टिफ पर्सन सिन्ड्रोम (एसपीएस) भएको खुलासा गरेकी छिन्। एक अति दुर्लभ न्यूरोलोजिकल अवस्थाका कारण आफूले २०२३ का सबै भ्रमण स्थगित गरेको पनि उनले जानकारी दिएकी छन्।
५ पटकको ग्रामी-विजेता गायिका डियोनले इन्स्टाग्राममा एक भावुक भिडियो सार्वजनिक गरेकी छिन्। जहाँ भनेकी छिन्, ‘म तपाईंहरुलाई स्टेज कार्यक्रममा देख्ने कुरा गुमाइरहेकी छु। मैले मेरा प्रस्तुतिमा शतप्रतिशत दिने कोसिस गरेकी छु, तर अहिले मेरो अवस्थाले त्यस्तो गर्न दिइरहेको छैन।’
एसपीएस एक अटोइम्युन न्यूरोलोजिकल कन्डिसन हो। यो रोग निकै कमलाई हुने गर्छ। यो रोग १० लाखमा १ जनालाई हुने बताइएको छ।
यसको सीधा असर सेन्ट्रल नर्व सिस्टममा पर्ने गर्छ। स्पाइनल कर्ड र शरीरको तल्लो भाग अड्किन थाल्छ। कुनै अवस्थामा भने गर्दन, ढाड र काँधका मसल्स पनि अड्किन सुरु हुन्छ।
यसको लक्षण सामान्यतया ढाडबाटै सुरु हुन्छ र गर्धनसम्म पुग्छ। सामान्यतया ३० देखि ६० को उमेरमा यो समस्या धेरै देखिएको छ। यसबाहेक डायबिटिज, थाइराइड, ब्रेस्ट क्यान्सर, थाइराइड क्यान्सर र लङ क्यान्सर जस्ता बिरामसँग जुधिरहेकाहरुलाई पनि यो हुने सम्भावना बढी रहन्छ।
पुरुषको तुलनामा महिला बढी यसबाट ग्रसित हुने अध्ययनले देखाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।