काठमाडौं– चर्चित गीतकार नासिर फराजको निधन भएको छ। बलिउडका लागि उत्कृष्ट गीत लेखेका नासिर फराज मुटु रोगबाट पीडित थिए।
नासिर फराजले सन् २०१० मा रिलिज भएको फिल्म काइट्सका दुई सुपरहिट गीत 'दिल क्यूँ मेरा शोर करे' र 'जिन्दगी दो पल की' लेखेका थिए। नासिर फराजले बाजीराव मस्तानी, क्रिस र काबिल जस्ता फिल्मका लागि गीत पनि लेखेका छन्।
नासिर फराजका साथी तथा गायक मुज्तबा अजिज नाजाले नासिर फराजको मृत्यु भएको पुष्टि गरेका छन्। अजिज नाजाले एक भारतीय सञ्चार संस्थासँगको कुराकानीमा नासिर फराज मुटुसम्बन्धी रोगबाट पीडित रहेको बताए। उनको पनि सात वर्षअघि शल्यक्रिया भएको थियो।
आइतबार साँझ छाती दुख्ने समस्या देखिए पनि उनी अस्पताल गएका थिएनन्। साँझ करिब ६ बजे उनको निधन भएको हो। उनलाई मुम्बईको नालासोपारा कब्रिस्तानमा हस्तान्तरण गरिएको छ।
मुजताबा अजिज नाजाले सामाजिक सञ्जाल अकाउन्टबाट फराजका केही तस्वीर शेयर गर्दै उनको निधनमा शोक व्यक्त गरेका छन्। उनले लेखेका छन्, ‘आज नासिर फराज साहब हामी माझ रहेनन्। उनी भारतीय चलचित्र उद्योगका चर्चित गीतकारहरूमा परिचित छन्। नासिर साहेबसँग मेरो १२ वर्षको परिचय् थियो। हामीले बाजीराव मस्तानी (२०१५) र ‘हेमोलिम्फ’ (२०२२) जस्ता फिल्महरूमा सँगै काम गर्यौं...।’
फराजले ‘काइट्स’, ‘क्रिस’, ‘बाजीराव मस्तानी’ जस्ता फिल्ममा काम गरेका थिए। उनका अन्य फिल्महरूमा 'काबिल', 'ऐतबार', 'लभ एट टाइम्स स्क्वायर', 'ये जिंदगी का सफर' पर्छन्। उनले २०१३ मा रिलिज भएको ‘एक बुरा आदमी’ जस्ता चलचित्रमा गीतकारको रुपमा काम गरेका थिए।
नासिर फराजले ‘तुम मुझे बस युँ ही’, ‘मै हुन वो आस्मान’, ‘कोई तुम्सा नही’, ‘काबिल हुँ’ र ‘चोरी चोरी चुपके’ जस्ता हृदयस्पर्शी गीतहरू लेखेका थिए। उनी संगीतकार र संगीत निर्देशक पनि थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।