काठमाडौं– नेपाल नागरिक उड्डयन प्राधिकरणले विमान दुर्घटनाको विषयलाई लिएर अनावश्यक नबोल्न निर्देशन दिएको छ। दुर्घटनाको स्वतन्त्र र निष्पक्ष छानबिनको लागि नेपाल सरकारले जाँचबुझ समिति गठन गरिसकेको भन्दै प्राधिकरणले विमान दुर्घटनासम्बन्धी घटनालाई जोडेर कुनै पनि व्यक्ति, संस्था, सम्बन्धित निकाय र पूर्व कर्मचारीहरुलाई नबोल्न निर्देशन दिएको हो।
न्युज एजेन्सी नेपालसँगको कुराकानीमा सोमबार नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले छानबिन समितिले स्वतन्त्र र निष्पक्ष अनुसन्धान गरेर रिपोर्ट बाहिर ल्याउने भन्दै घटनाका विषयमा अड्कल अनुमान गर्नु वाञ्छनीय नहुने बताए।
‘घटना भइसकेपछि यसको स्वतन्त्र र निष्पक्ष छानबिनको लागि नेपाल सरकारले जाँचबुझ समिति गठन गरिसकेको हुनाले यस घटनालाई जोडेर कुनैपनि व्यक्ति, महानुभावहरु, प्राधिकरणका पूर्व कर्मचारीहरु कसैले पनि यस बारेमा नबोल्दा उपयुक्त हुन्छ। यसमा कसैले पनि आफ्नो विज्ञता देखाउनुपर्ने आवश्यक्ता छैन,’ प्रवक्ता निरौलाले भने, ‘जाँचबुझ समितिले घटनाको स्वतन्त्र र निष्पक्ष सत्यतथ्य बाहिर ल्याउनेछ। नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रकाशन गरेको प्रेस विज्ञप्ति र प्राधिकरणका बहालवाला आधिकारिक व्यक्तिबाट प्रशारित समाचारहरु बाहेक अरुलाई विश्वास नगर्न र त्यस प्रकारका खण्डनहरुलाई विश्वास नगरी प्राधिकरणका सत्यतथ्य सूचनाहरु जानकारीमा राख्न आग्रह गर्छु।’
सामाजिक सञ्जालमा विमान भित्रबाटै लाइभ गरेको भनेर भ्रम छर्न अर्कै भिडियो प्रचार गरिरहेको भन्दै निरौलाले त्यसमा सत्यता नरहेको बताए। सामाजिक सञ्जालमा भाइरल बनिरहेको उक्त भिडियो आइतबार काठमाडौंबाट पोखरा उडेको यती एयरलाइन्सको दुर्घटनाग्रस्त विमानको नभएको निरौलाले दाबी गरे।
‘सामाजिक सञ्जालमा आएका भिडियो फुटेजहरु हामीले पनि हेर्यौं। त्यसमा कुनै सत्यता छैन। जुन एउटा फेसबुकमा लाइभ भएको भिडियो देखिन्छ। त्यो हिजो दुर्घटना भएको जहाजको नभइ अन्य कुनै जहाजको भएको बुझिन्छ,’ निरौलाले भने।
अवतरण गर्ने क्रममा दुर्घटना
यती एयरलाइन्सको ९एन–एएनसी एटीआर–७२ वायुयान पोखरा विमानस्थलमा अवतरण गर्ने क्रममा पुरानो विमानस्थल र नयाँ विमानस्थलको बीचमा रहेको सेती किनारमा दुर्घटनामा परेको थियो। आइतबार बिहान १० बजेर ३२ मिनेटमा काठमाडौंस्थित त्रिभुवन विमानस्थलबाट पोखराका लागि उडेको यती एयरलाइन्सको उक्त विमान उडान भरेको २२ मिनेटमै दुर्घटनामा परेको थियो।
पोखरा विमानस्थलमा अवतरणको लागि अनुमति पाएको र अवतरणको क्रममा रहेको सो विमान सेती नदीको खोँचमा खसेको थियो। विमानमा ७२ जना सवार थिए। जसमा ६८ यात्रु र ४ जना चालक दलका सदस्य थिए।
यात्रुहरुमा ५३ जना नेपाली थिए। बाँकी विदेशी थिए। विदेशी यात्रुहरुमा भारतका ५ जना, रसियाका ४ जना, कोरियाका २ जना, आयरल्याण्डका १ जना, अस्ट्रेलियाका १ जना, अर्जेन्टिनाका १ जना, फ्रान्सका १ जना थिए। जसमा महिला २५, पुरुष ३७, बालक ३ र शिशु ३ जना थिए।
प्राधिकरणले अहिलेसम्म ६९ जनाको शव संकलन गरिएको जनाएको छ। बाँकी ३ जनाको खोजी कार्य जारी रहेको प्रवक्ता निरौलाले जानकारी दिए।
ज्यान गुमाएकाहरुको पहिचान तथा पोस्टमार्टमा लागि शवहरु पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ। अहिलेसम्म ४१ जनाको पहिचान खुलेको प्राधिकरणले जनाएको छ।
जहाजको ब्ल्याक बक्स फेला परिसकेको र काठमाडौं ल्याइ जाँचबुझ समितिलाई बुझाउने तयारी रहेको प्राधिकरणले बताएको छ।
आइतबार विमान दुर्घटनापछि दुर्घटनाको कारण पहिचान गरी आगामी दिनमा यस्ता घटना हुन नदिन अपनाउनुपर्ने सुझावसहितको प्रतिवेदन दिन सरकारले दुर्घटना जाँच आयोग गठन गर्ने निर्णय गरेको थियो। पूर्वसचिव नागेन्द्र घिमिरे संयोजक रहेको जाँच आयोगको सदस्यमा हवाईविज्ञ दीपकप्रसाद बास्तोला, हवाई विज्ञ सुनिल थापा, हवाई मर्मत सेक्टरका इन्जिनियर एकराजजंग थापा रहेका छन्। यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने आयोगको सदस्यसचिव रहेका छन्।
आयोगले ४५ दिनको समयावधिमा दुर्घटनाको कारण पहिचान गर्ने र आगामी दिनमा त्यस्तो दुर्घटना हुन नदिन अपनाउनु र गर्नुपर्ने काम पहिचान गरी सुझावसहितको प्रतिवेदन पेस गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।