काठमाडौं– यतिबेला काठमाडौं उपत्यकामा हल्का वर्षा सुरु भएको छ। काठमाडौंमा लामो समयपछि पानी परेको हो। मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार काठमाडौंसहित देशका पहाडी क्षेत्रमा पानी पर्नेछ।
उच्च पहाडी तथा हिमाली भेगमा भने हिमपातको सम्भावना छ।
बुधबार दिउँसो देशका पहाडी क्षेत्रका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको समेत विभागले जनाएको छ।
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। अहिले सुदूरपश्चिम प्रदेश, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।
बुधबार राति कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/ चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।