काठमाडौं- काठमाडौँ महानगरपालिकाको वडा कार्यालय सञ्चालनका लागि भवन (घर) पाउन कठिन देखिएको छ। व्यावसायिक क्षेत्रमा सरकारी कार्यालयलाई ठाउँ दिँदा भाडा थोरै आउने, त्यही ठाउँलाई व्यवसायीले धेरै भाडा दिने भएपछि ठाउँ पाउन कठिन भएको पाइएको छ।
महानगरकी उपप्रमुख एवं न्यायिक समितिकी संयोजक सुनिता डंगोलको नेतृत्वमा वडा कार्यालयमा उपलब्ध भौतिक संरचनाको स्थलगत अवलोकनका क्रममा यस्तो अवस्था देखिएको बताइएको छ।
न्यायिक समितिका सदस्य र कानुन तथा मानव अधिकार विभागसहितको टोलीले वडामा मेलमिलाप केन्द्र सञ्चालनलाई केन्द्रमा राखेर सेवा तथा कार्यालय व्यवस्थापनका पक्षमा अवलोकन गरिरहेको छ। यस क्रममा मंगलबार वडा १२, १७, १९, २०, २१ र २५ गरी ६ वटा वडाको निरीक्षण गरिएको छ।
वडा १२ अहिले भाडाको भवनमा बसिरहेको छ। यसको नयाँ भवन निर्माण हुँदैछ। नयाँ भवनमा सरेपछि मेलमिलाप कक्षका लागि पर्याप्त ठाउँ हुने वडाध्यक्ष बालकृष्ण महर्जनको भनाइ छ। वडा वडा १७ को भवन छ। मेलमिलाप केन्द्र सञ्चालन गर्न छुट्टै कोठा छ। वडा १९ यति साँघुरो भवनमा छ कि यहाँ ५ जना जनप्रतिनिधि र वडा सचिव एउटै कक्षमा बसेर सेवा सञ्चालन गरिरहेको छ।
वडाध्यक्ष राजेशकुमार श्रेष्ठका अनुसार अहिले वडा बसेको भवन भत्काएर नयाँ भवन निर्माण गर्ने योजना छ। यस अवधिमा जहाँबाट कार्यालय सञ्चालन हुन्छ। त्यहीँबाट मेलमिलाप कक्ष सञ्चालन हुनेछ। वडा २१ नवनिर्मित भवनमा छ। यहाँ मेलमिलाप कक्ष व्यवस्थित छ। वडा २४ एक तला एउटा कोठा भएको भवनबाट सेवा दिइरहेको छ। वडालाई आवश्यक पर्ने ठाउँ खोजी भइरहेको छ। वडा २५ भाडाको भवनमा छ। वडाध्यक्ष राजेश डंगोलकाअनुसार वडालाई फराकिलो ठाउँमा सार्ने योजना भइरहेको छ। त्यो सम्भव नभए पनि वडासँगै जोडिएको भवनमा कोठा लिएर भए पनि केन्द्र सञ्चालन हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।