काठमाडौं– आर्सनल, रियल मड्रिड र जर्मनीका पूर्व मिडफिल्डर मेसुट ओजिलले फुटबलबाट सन्यासको घोषणा गरेका छन्। ३४ वर्षीय ओजिलले सामाजिक सञ्जालमार्फत् वक्तव्य जारी गर्दै फुटबलबाट सन्यासको घोषणा गरेका हुन्।
पछिल्लो समय टर्किस क्लब बसाकसेहिरमा आबद्ध ओजिलले लगातारको चोटका कारण फुटबल खेल्न छाड्नुपुर्ने महसुस भएपछि सन्यासको निर्णय लिएको बताएका छन्।
‘सोची–सम्झी विचार गरेपछि मैले व्यवसायिक फुटबलबाट तत्काल अवकाश लिने घोषणा गरेको छु। मलाई लगभग १७ वर्ष एक व्यवसायिक फुटबल खेलाडी हुने सौभाग्य मिल्यो र यो अवसरका लागि म अविश्वसनीय रुपमा आभारी छु। तर पछिल्लो केही हप्ता तथा महिनामा, केही चोटको सामना गरेपछि, स्पष्ट भयो कि फुटबलको ठूलो मैदान छाड्ने समय यो हो,’ सामाजिक सञ्जालमा जारी वक्तव्यमा ओजिलले भनेका छन्।
ओजिलले फुटबल खेलाडीका रुपमा १७ वर्षको समय आफ्ना लागि अविस्मरणीय पल र भावनाले भरिएको एक अद्भुत यात्राको रुपमा रहेको उल्लेख गरेका छन्।

आफ्नो क्लब करियरमा ओजिलले ४ एफए कप र सन् २०१२ मा स्पेनिस ला लिगा उपाधि सहित ९ उपाधि जितेका छन्। ओजिलले आफ्नो राष्ट्रिय टिम जर्मनीका लागि ९२ म्याचमा २३ गोल गरेका छन्। सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपको उपाधि जित्दा उनी जर्मनीको टोलीका सदस्य थिए।
ओजिलले जर्मन क्लब साल्केबाट २००६–०७ मा व्यवसायिक खेल करिअर शुरु गरेका थिए। त्यसपछि वेडर ब्रेमेनमा ३ सिजन खेलेका ओजिल स्पेनिस क्लब रियल मड्रिडमा पुगेका थिए। ओजिल रियल मड्रिडबाट ला लिगा, कोपा डेल रे र स्पेनिस सुपर कप जित्न सफल भए।
रियल मड्रिडमा ३ सिजन खेलेपछि सन् २०१३ उनी त्यसबेला क्लबको कीर्तिमानी मुल्य ४२.४ मिलियन पाउन्डमा इंग्लिस क्लब आर्सनलमा सामेल भएका थिए। आर्सनलमा रहँदा उनी ४ पटक एफए कप र १ पटक एफए कम्युनिटी शिल्ड जित्न सफल भए।
५ पटक जर्मनको ‘प्लेयर अफ द इयर’ घोषित भएका ओजिलले सन् २०१० र २०१४ मा राष्ट्रिय टिमबाट विश्वकपका सबै म्याच खेले। सन् २०१४ मा अर्जेन्टिनालाई १–० गोलले हराउँदै जर्मनीले विश्वकप जित्दा उनी टोलीको महत्वपूर्ण सदस्य थिए। उनले सन् २०१८ को विश्वकपमा राष्ट्रिय टिमका लागि अन्तिम खेल खेले।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।