कैलाली– रानीवन क्लब बाजुरा तेस्रो सुदूरपश्चिम गौरीगङ्गा गोल्ड कपको क्वाटर फाइनलमा प्रवेश गरेको छ। कैलालीको गौरीगङ्गामा जारी तेस्रो सुदूरपश्चिम गौरीगङ्गा गोल्ड कप अन्तर्गत बिहीबार भएको खेलमा नेपाल पुलिसको टिमलाई २–१ गोल अन्तरले पराजित गरी रानीवनले क्वाटर फाइनलमा स्थान पक्का गरेको हो।
खेल सुरु भएको २ मिनेटमै गौरव रावतको हेडरमार्फत् गोल गर्दै बाजुराले अग्रता लिएको थियो। ४० औं मिनेटमा दिनेश रेग्मीले एक गोल थप्दा पहिलो हाफमा बाजुराले २–० को अग्रता बनायो। पुलिसका तर्फबाट खेलको ५३ औं मिनेटमा चक्र बलायरले गोल गर्न सफल भए पनि त्यसपछि पुलिस खेलमा फर्कन नसक्दा प्रतियोगिताबाट नक आउट हुन पुग्यो। खेलको प्लेयर अफ दी म्याच रानीवन क्लब बाजुराका मिलन रेग्मी चुनिए।
प्रतियोगिता अन्तर्गत शुक्रबार बर्दिया र कञ्चनपुरको टिम प्रतिस्पर्धा गर्नेछन्। ‘खेलौं फुटबल रमेर, खेलकुदको सन्देश, शान्ति स्थायित्व र एकताबद्ध देश’ भन्ने नाराका साथ गौरीगङ्गा–११ स्पोर्टस् क्लबले आयोजना गरेको प्रतियोगिता चैत ३० गतेसम्म सञ्चालन हुने छ। प्रतियोगिताको विजेतालाई ट्रफी सहित नगद ४ लाख र उपविजेता लाई ट्रफी सहित नगद २ लाख पुरस्कार प्राप्त गर्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।