कैलाली– बर्दियाको नव युवा मैत्री भाव एकता समाज क्लब तेस्रो सुदूरपश्चिम गौरीगंगा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ।
टाइब्रेकरमा कञ्चनपुरको हिमाल फ्रेन्ड्स क्लबलाई ३–२ गोल अन्तरले पराजित गरी बर्दिया ‘जग शक्ति गोल्ड टीएमटी तेस्रो सुदूरपश्चिम गौरीगंगा गोल्ड कप’को अन्तिम चारमा पुग्ने दोस्रो टोली बनेको हो। बाँकेको कोहलपुर रेसिङ सहारा क्लब यसअघि नै सेमिफाइनलमा पुगिसकेको छ।
शुक्रबार भएको खेलमा निर्धारित समयभित्र दुवै टोलीले गोलरहित बराबरी खेलेपछि टाइब्रेकरबाट नजिता निकालिएको हो। पेनाल्टीमा बर्दियाका तर्फबाट योगेश थापा, चिरण कार्की र अभिषेक बमले गोल गर्न सफल भए। कञ्चनपुरका तर्फबाट शिव वोटे र अञ्जन बोगटी मात्र गोल गर्न सफल भए।
प्रतियोगिता अन्तर्गत शनिबार सेमिफाइनल प्रवेशका लागि कैलाली र आयोजक प्रतिस्पर्धा गर्नेछन्।
‘खेलौँ फुटबल रमेर, खेलकुदको सन्देश, शान्ति स्थायित्व र एकताबद्ध देश’भन्ने नाराका साथ गौरीगंगा–११ स्पोर्टस् क्लबले आयोजना गरेको प्रतियोगिता चैत ३० गतेसम्म सञ्चालन हुने छ।
आयोजक गौरीगंगा–११ सँगै कैलाली, कञ्चनपुर, डोटी, बाजुरा, बाँके, बर्दिया, नवलपरासी जिल्लाका टिमहरूका साथै नेपाल पुलिस र सशस्त्र प्रहरी बल गरी प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ।
प्रतियोगिताको विजेतालाई ट्रफीसहित नगद ४ लाख र उपविजेतालाई ट्रफीसहित नगद २ लाख पुरस्कार प्रदान गरिने छ भने सर्वोत्कृष्ट खेलाडीलाई नगद ५० हजार प्रदान गरिने आयोजकले जानकारी दिएको छ।
साथै, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक लगायत विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई विधागत रूपमा ट्रफीसहित नगद १० हजार पुरस्कार दिइने छ।
सुदूरपश्चिम प्रदेशको पर्यटन प्रवर्द्धन गर्न, नगर क्षेत्रमा खेलकुदको चहलपहल बढाउन, व्यावसायिक खेलाडी बनाउन तथा युवालाई खेलकुदमा लाग्न अभिप्रेरित गर्नका लागि प्रतियोगिता गरेको क्लबका अध्यक्ष दिनेश कलेलले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।