काठमाडौं– स्पेनिस ला लिगामा रियल मड्रिड घरेलु मैदानमा नै पराजित भएको छ। सान्टियागो बर्नबेउमा शनिबार राति भएको रोमाञ्चक खेलमा रियल मड्रिड भिल्लारियलसँग ३–२ गोलले पराजित भयो।
भिल्लारियलका सामुइल चुकविजीले २ गोल गरे। यस्तै, जोश लुइस मोरालेसले १ गोल गरे। रियलका भिनिसियस जुनियरले १ गोल गर्दा १ गोल भने उपहार पायो।
खेलको १६औं मिनेटमा नै पाउ टोरेसले आत्मघाती गोल गर्दा रियलले अग्रता लिएको थियो। तर त्यसलाई जोगाउन सकेन। ३९औं मिनेटमा भिल्लारियलका सामुइल चुकविजीले गोल गर्दै खेललाई १–१ को स्थितिमा ल्याए।
४८औं मिनेटमा भिनिसियसले गोल गर्दै रियललाई २–१ को अग्रता दिलाए। ७०औं मिनेटमा भिल्लारियलका जोश लुइस मोरालेसले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए।
८०औं मिनेटमा भिल्लारियलका सामुइल चुकविजीले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे। सामुइलको दोस्रो गोलपछि नै भिल्लारियलले ३–२ को जित पक्का गर्यो।
भिल्लारियलसँगको हारपछि उपाधि होडबाट रियल मड्रिड थप टाढिँदै गएको छ। अंक तालिकाको दोस्रो स्थानमा रहेको रियल शीर्ष स्थानको बार्सिलोनासँग १२ अंकले पछि परेको छ।
रियल मड्रिडले २८ खेलबाट ५९ अंक जोडेको छ। जबकि १ खेल कम खेलेको बार्सिलोनाका ७१ अंक छ।
रियललाई हराएको भिल्लारियल ४७ अंक जोडेर पाँचौं स्थानमा उक्लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।