काठमाडौं– विभागीय टोली नेपाल एपीएफ फुटबल क्लब र स्टार खेलाडीले भरिएको चर्च ब्वाइज युनाइटेडले काठमाडौंमा जारी शहीद स्मारक ए डिभिजन लिगमा सोमबार बराबरी खेल्दै अंक बाँड्दा अर्को खेलमा नेपाल पुलिस क्लबले पहिलो जित निकालेको छ।
सातौं चरण अन्तर्गत चर्च ब्वाइज र एपीएफले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् भने पुलिसले अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा भएको खेलमा फ्रेण्ड्समाथि ३–१ को जित निकाल्दै जारी लिगमा पहिलो जित निकोको हो।
नवप्रवेशी चर्च ब्वाइज र एपीएफबीचको खेल निकै प्रतिष्पर्धात्मक बनेको थियो। निर्धारित समयमा दुवै टोलीले पाएका केही राम्रा अवसरलाई सदुपयोग गर्न असफल भएका थिए। सुरुआतबाट आक्रामक रुपमा देखिएका दुवै टोलीले स्पष्ट जितको खोजीमा थिए। गोलका लागि निकै संघर्ष गरे पनि सफल हुन सकेनन्। खेलको २४औं मिनेटमा एपीएफका एडमा विडोमको प्रहारलाई चर्च ब्वाइजका गोलकिपर प्रिसो एन्जाङ्गाले बचाउँदा एपीएफको अग्रता हुने अवसरलाई खेर गएको थियो।
३५औं मिनेटमा चर्च ब्वाइजका एरिक बिष्टको फ्रिकिक एपीएफका गोलकिपर युया कुरियामाले बचाउँदा ४३औं मिनेटमा जोफेफ बेम्पाको प्रहार पोलमा लागेर फर्कियो।
यसै सिजन बढुवा हुँदै लिगमा स्टार खेलाडीलाई अनुबन्ध गरेको चर्च ब्वाइजले दोस्रो हाफमा पनि सुनौला अवसर खेर फाल्न पुगेको थियो। ७४औं मिनेटमा मणि लामाले प्रहार गरेको फ्रिकिकमा विदेशी खेलाडी एडमा विडोमले भेटाउन सकेनन्। यस बराबरीसँगै चर्च ब्वाइजले ७ खेलमा १३ अंक जोडेको छ। यस्तै एपीएफले ७ खेलमा ११ अंक जोडेको छ।
लिग अन्तर्गत सोमबार नै भएको अर्को खेलमा विदेशी खेलाडी भित्र्याएको नेपाल पुलिस क्लबले जारी लिगमा पहिलो जित निकोको छ। सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न खेलमा पुलिसले ललितपुरको टोली फ्रेण्ड्स क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै जारी लिगमा पहिलो जित निकालेको हो।
पुलिसले सातौं चरणको खेलमा पहिलो पटक स्पष्ट अंक जोड्न सफल भएको हो। अघिल्लो खेलहरूमा अपेक्षा अनुसारको प्रदर्शन गर्न नसकेको पुलिसको जितमा बुद्ध बल तामाङले दुई गोल गर्दा विदेशी खेलाडी मोसेसले डेब्युमा नै गोल गरे। यस्तै, फ्रेण्ड्सका पनि विदेशी खेलाडी टोरिक जेब्रिनले सान्त्वना गोल फर्काएर अन्तर घटाएका थिए।
विदेशी खेलाडी समावेश भएपछि उच्च मनोबलका साथ खेलेको पुलिसले पहिलो हाफमा भने अपेक्षा अनुसार खेल्न सकेन। दोस्रो हाफमा तालमेल मिलेपछि आक्रामक रुपमा देखिएको पुलिसले ५०औं मिनेटमा गोलको खाता खोल्यो। मोसेसको गोलमार्फत् पुलिसले अग्रता लिएको थियो।
५७औं मिनेटमा बुद्धले टोलीको अग्रता दोब्बर बनाउँदा खेल सकिन चार मिनेट बाँकी रहँदै फ्रेण्ड्सले गोल गर्दै अन्तर छोट्याएको थियो। ८६औं मिनेटमा फ्रेण्ड्सका जेब्रिनले खेललाई २–१ को स्थितिमा ल्याए। खेलको ८९औं मिनेटमा बुद्धले व्यक्तिगत दोस्रो गोल गरेपछि पुलिसले ३–१ को जित निश्चित गरेको हो। जितसँगै पुलिसले ७ खेलबाट तालिकामा ४ अंक पुर्याएको छ। फ्रेण्ड्सको पनि ७ खेलमा समान ४ अंक नै भएको छ।
लिगमा मंगलबार दुई खेल हुनेछन्। एन्फा मुख्यालयमा हुने खेलमा जावलाखेल युथ क्लबले विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबसँग प्रतिष्पर्धा गर्दा च्यासल मैदानमा मच्छिन्द्र फुटबल क्लबले खुमलटार युथ क्लबसँग खेल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।