कैलाली– कैलालीको स्टार सिटी क्लब तेस्रो सुदूरपश्चिम गौरीगंगा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। बाँकेको कोहलपुर रेसिङ सहारा क्लबले श्रम स्वीकृति बिनाका तीन जना विदेशी खेलाडी खेलाउन बल प्रयोग गरेपछि आयोजकले उक्त क्लबलाई कारबाही गरेको छ। उक्त क्लबको कारबाहीसँगै स्टार सिटी उपाधि नजिक पुगेको हो।
सोमबार खेल सुरु हुनुपूर्व रेसिङ सहाराको टिमले तीन जना विदेशी खेलाडी समावेश गरेर टोली तयार परेको थियो। आयोजकले श्रम स्वीकृति माग्दा तीनै जनाको कागजात उपलब्ध गराउन सकेन।
क्लबको नियमावली विपरीत हुन जाने भन्दै श्रम स्वीकृति बिनाका विदेशी खेलाडी नखेलाएर स्वदेशी खेलाडी मात्र खेलाउन आयोजकले माग गरेपछि उल्टै गालीगलौज गरेर बल प्रयोग गर्न खोजेपछि उक्त क्लबलाई कारबाही गरिएको आयोजकले जनाएको छ।
खेल बहिस्कार गरी मैदान छोडेर जाने टिमलाई ५० हजार जरिवानासहित कारबाही गरिने क्लबको नियमावली अनुसार रेसिङ सहाराको टिमलाई कारबाही गरिएको आयोजक गौरीगंगा–११ स्पोर्ट्स क्लबका अध्यक्ष दिनेश कलेलले बताए।
यस अघि क्वाटर फाइनलमा एपीएफसँगको खेलमा उक्त क्लबले स्वदेशी खेलाडी मात्र समावेश गरेर सहभागिता जनाएको थियो। ‘जग शक्ति गोल्ड टिएमटी तेस्रो सुदूरपश्चिम गौरीगंगा गोल्डकप’ अन्तर्गत दोस्रो सेमिफाइनल खेलमा मंगलबार बर्दियाको नव युवामैत्री भाव एकता समाज क्लब र नवलपरासीको फोर ब्रदर्श एफसी प्रतिस्पर्धा गर्नेछन्। फाइन खेल स्टार सिटी र मंगलबारको विजेता टोलीबीच ३० गते बिहीबार हुने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।