काठमाडौं– स्पेनिस ला लिगाअन्तर्गतको सोमबार राति भएको खेलमा शीर्ष स्थानको बार्सिलोना बराबरीमा रोकिएको छ। बार्सिलोना जिरोनासँग गोलरहित बराबरीमा रोकिएको हो।
स्पोटिफाई क्याम्प नोउमा सोमबार राति भएको खेलमा घरेलु टोली बार्सिलोनाले बल पोसेसन राख्दै दबाब बढाए पनि जिरोनाविरुद्ध गोल भने गर्न सकेन।
बार्सिलोनाका प्रहारलाई जिरोनाका गोलरक्षक पाउलो गाजानिगाले गोलमा परिणत हुन दिएनन्। खेलको नवौं मिनेटमा गाभीको प्रहारलाई पाउलोले बचाए। ३६औं मिनेटमा राफिन्हा र ३७औं मिनेटमा रोनल्ड एराउजोको प्रयासमा गोलरक्षक नै बाधक बने।
जिरोनाका लागि ५६औं मिनेटमा अग्रता लिने अवसर मिलेको थियो। तर कास्टेलानोसको प्रहार पोस्ट नजिकैबाट बाहिरियो।
खेलको इन्ज्युरी समयमा बार्सिलोनाले २ वटा अवसर गुमायो। ला लिगामा बार्सिलोनाको तेस्रो बराबरी हो।
२८ खेल खेलेको बार्सिलोनाले २३ खेलमा जित निकालेको छ। ३ खेलमा बराबरी खेलेको छ भने २ खेलमा हार बेहोरेको छ।
बार्सिलोना ७२ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ। दोस्रो स्थानको रियल मड्रिडको २८ खेलबाटै ५९ अंक छ। २८ खेलबाट ३५ अंकका साथ जिरोना ११औं स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।