काठमाडौं– नर्वेली युवा फरवार्ड एर्लिङ ब्राउड हालान्डको कीर्तिमानका बीच युइएफए च्याम्पियन्स लिगमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले सहज जित निकालेको छ। क्वाटरफाइनलको पहिलो लेगमा सिटीले जर्मन क्लब बायर्न म्युनिखलाई ३–० गोलले हरायो।
सिटीको घरेलु मैदान इतिहाद स्टेडियम म्यानचेस्टरमा सोमबार राति भएको खेलमा सिटीका लागि रोड्री, बर्नाडो सिल्भा र एर्लिङ ब्राउट हालान्डले गोल गरे।
खेलको २७औं मिनेटमा रोड्रीले गरेको गोलबाट सिटीले अग्रता लियो। ७०औं मिनेटमा सिल्भाले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे। यस्तै, ७६औं मिनेटमा हालान्डले गोल गर्दै सिटीलाई ३–० को जिततर्फ अग्रसर गराए।
२२ वर्षीय हालान्डले एकै सिजन ३९ खेलमा ४५ गोल गरेर कीर्तिमान बनाएका छन्। यसअघि लिभरपुलका मोहम्मद सलाह र म्यानचेस्टर युनाइटेडका रुड भान निस्टलरोएले एकै सिजन ४४ गोलको कीर्तिमान बनाएका थिए। दुवै खेलाडीले एकै सिजनमा समान ५२ खेलबाट ४४ गोल बनाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।