काठमाडौं– स्पेनिस क्लब रियल मड्रिड युइएफए च्याम्पियन्स लिगअन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा विजयी भएको छ। बुधबार राति भएको खेलमा रियलले इंग्लिस क्लब चेल्सीमाथि २–० गोलको सहज जित निकाल्यो।
१० खेलाडीमा समेटिएको चेल्सीमाथि घरेलु मैदानमा जित निकाल्दा रियलका लागि कप्तान करिम बेन्जेमा र मार्का एसेन्सियोले १–१ गोल गरे।
सान्टियागो बर्नब्यूमा भएको खेलको २१औं मिनेटमा गोल गर्दै कप्तान बेन्जेमाले रियललाई सुरुवाती अग्रता दिलाएका थिए। बेन्जेमा भिनिसियस जुनियरको पासमा गोल गर्न सफल भएका थिए।
पहिलो हाफमा १–० ले पछि परेको पाहुना टोली चेल्सी दोस्रो हाफको सुरुमै १० खेलाडीमा समेटिन पुग्यो। ५९औं मिनेटमा बेच चिलवेल रातो कार्ड खाँदै मैदानबाट बाहिरिए।
खेलको ७४औं मिनेटमा मार्का एसेन्सियोले अर्को गोल गर्दै रियललाई २–० को जित दिलाए।
चेल्सीविरुद्धको जितसँगै साविक विजेता रियलले च्याम्पियन्स लिगको सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ।क्वाटरफाइनलको अर्को लेग चेल्सीको घरेलु मैदानमा १८ अप्रिलमा हुने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।