काठमाडौं– जर्मन बुन्डेसलिगा लिडर बायर्न म्युनिख गत बुधबार राति भएको च्याम्पियन्स लिगको पहिलो लेगमा ३–० ले निराश भयो। इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले बायर्नको पोस्टमा ३ गोल हान्दै बायर्नलाई ठूलो चोट दियो।
३–० को हारबाट निराश भएका बायर्नका खेलाडीहरूको रिस मैदान बाहिर ड्रेसिङ रुमसम्मै देखियो। कतिसम्म भने साडिओ मानेले आफ्नै साथी लियरो सानेलाई मुक्का होनेकोसम्म खबरहरू बाहिरिए।
३–० को हारपछि उत्पन्न तनावमा विवाद हुँदा मानेले सानेलाई अनुहारमा प्रहार गरेको जर्मन मिडियाहरूले उल्लेख गरेका थिए। झगडा गरेपछि टोलीका अन्य साथीहरूले उनीहरूलाई छुट्याउनु नै परेको थियो।
त्यसैको परिणाम शनिबार हुने खेलका लागि टोली घोषणा गर्दा मानेलाई क्लबले बाहिर राखेको छ। बायर्न म्युनिखले आफ्नो टोलीका साथी सानेलाई मुक्का हानेको रिपोर्टको बीचमा होफेनहेमविरुद्ध शनिबारको खेलका लागि मानेलाई टोलीबाट बाहिर राखिएको बीबीसीले उल्लेख गरेको छ।
बायर्नले सेनेगल फरवार्ड मानेले गरेको दुर्व्यवहारका कारण उनलाई बाहिर राखिएको र जरिवाना समेत गराइएको बताएको छ। बायर्नले बिहीबार विज्ञप्ति निकाल्दै भनेको छ, ‘शनिबार हुने होफेनहेमविरुद्धको घरेलु लिगको खेलमा ३१ वर्षीय मानेलाई टिममा समावेश गरिएको छैन। टिममा नराख्नुको कारण म्यानचेस्टर सिटीसँगको खेलपछि उनले गरेको दुव्यर्वहार हो। साथै, उनलाई जरिवाना पनि तिराइने छ।’
जर्मनको बिल्ड न्यूजपेपरले लेखेको छ, ‘लिभरपुलका पूर्वखेलाडी तथा दुई पटकको अफ्रिकन फुटबलर अफ द इयर समेत भएका मानेले हारपछि जर्मनीका विंगर सानेको व्यवहार तथा बोल्ने शैलीका बारेमा गुनासो गरेका थिए।’ पछि यी दुई खेलाडी ड्रेसिङ रुपमा हात हालाहालमै उत्रिएका थिए।
जर्मनी फर्किएपछि मानेलाई विमानस्थलबाट प्राइभेट गाडीमा राखेर पठाइयो भने सानेलाई टिम बस चढाइएको थियो। माने र साने बिहीबार बिहान भनेसँगै प्रशिक्षणमा फर्किएका थिए। यी दुई खेलाडीको झगडाबारे अहिलेसम्म कुनै खेलाडीले पनि टिप्पणी भने गरेका छैनन्। बायर्नले आउँदो बुधबार क्वाटरफाइलनको दोस्रो लेग आफ्नै घरेलु मैदानमा सिटीसँग खेल्दैछ।
भ्रेटान स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले जर्मन च्याम्पियन छाडेर बार्सिलोना जानुभन्दा केही समय अघि जुनमा ३ वर्षका लागि सम्झौता गर्दै माने लिभरपुलबाट ३५ मिलियन पाउन्डमा बायर्नमा आबद्ध भएका थिए।
उनले बायर्नका सबै प्रतियोगिताहरूका पहिलो ७ खेलमा ६ गोल गरेका थिए। तर, गत अक्टोबरदेखि भने गोल गरेका छैनन्।
लिभरपुलका लागि २६९ खेलमा १२० गोल गरेका माने नोभेम्बरमा बायर्नबाट खेल्दा घुँडाको चोटका कारण कतार विश्वकप खेल्न सकेका थिएनन्। जसका कारण उनी क्लबका ९ खेल बाहिरै रहे।
जर्मन फुटलब पत्रकार राफेल होनिग्स्टेन यी दुई खेलाडीको विवादबारे विश्लेषण गरेका छन्। उनको विश्लेषण अनुसार मानेले सानेलाई ड्रेसिङ रुपमा फिजिकल रुपममा धक्का दिएका थिए। यसको कारण भने मैदानबाट सुरु भएको थियो। मैदानमै उनीहरू केही आक्रोशमा उत्रिएका थिए। यी दुईको झगडाबारे थाहा पाउनेमध्ये एक जनाले आफूलाई भनेको भन्दै राफेलले भनेका छन्, ‘मानेले सानेलाई थप्पड हाने र ओठ समेत निचोरे।’
यसले ड्रेसिङ रुमको तनाव भन्दा पनि म्युनिखमा मानेको निराशाजन समयबारे बताउने पत्रकार राफेलको विश्लेषण छ।
‘मानेलाई सुपरस्टारको रुपमा प्रशंसा गरिएको थियो। अफ्रिकन कप अफ नेसन्स जितेको र विश्वकपमा जाँदा उनले सम्भवतः बालोन डिओर जितेको चर्चा समेत गरिएको थियो’ राफेलले भनेका छन्।
तर, उनले बायर्नमा सोचेजस्तो गर्न सकेनन्, यो चोटका कारण पनि हुनसक्छ। जब माने मैदानमा उत्रिन्छन् उनीबाट ऊर्जा, गति, बलियो मानसिकता जस्ता चिजहरू हराइरहेको जस्तो देखिन्थे।
तर, उनको तथ्यांक त्यति धेरै नराम्रो पनि छैन। उनी अहिलेकै प्रर्दशनबाट सन्तुष्ट हुने खेलाडी भने होइनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।