काठमाडौं– बलियो प्रतिद्वन्द्वी मनाङ मर्स्याङदीलाई पराजित गर्दै जावलाखेल युथ क्लब राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लिँदा अर्को खेलमा साविक विजेता मच्छिन्द्र न्युरोड टिम (एनआरटी() सँग बराबरीमा रोकिएको छ।
ललितपुरस्थित च्यासल मैदानमा सम्पन्न खेलमा जावलाखेल युथ क्लबले मनाङ मर्स्याङ्दी क्लबलाई ३–० गोल अन्तरले हराउँदै शीर्ष स्थानमा उक्लिँदा मच्छिन्द्र एनआरटीसँग १–१ गोलको बराबरीमा रोकिएको हो।
मच्छिन्द्रले पहिलो हाफमा लिएको अग्रतालाई कायम राख्न नसक्दा बराबरी खेल्दै एनआरटीसँग अंक बाँडेको हो। प्रतिष्पर्धात्मक बनेको खेलमा खेलमा मच्छिन्द्रले शुरुवाती अग्रता निकाल्दा ३९ औं मिनेटमा ओमालाजा नुरेन करिमले गोल गरेका थिए।
सम्मान जनक प्रदर्शन गरेको एनआरटीविरुद्ध मच्छिन्द्रका प्रसान्त अवस्थीको कर्नरमा करिमले गोल गर्न सफल भएका थिए। एनआरटीका डिफेन्डरले क्लियर गरेको बलमा करिमले बक्स बाहिरबाट आकर्षक गोल गरेका थिए।
तर, खेलको ६७ औं मिनेटमा स्टेफन जुनियरले गोल गर्दै एनआरटीलाई १–१ बराबरीमा फर्काउँदा बाँकी समयमा दुवै टोली गोलका लागि प्रयास गरे पनि सफल हुन सकेनन्। स्टेफनले निकोलस सङले उपलब्ध गराएको पासलाई जाली चुमाउन सफल भएका थिए। यस बराबरीसँगै मच्छिन्द्रले ९ खेलबाट १३ अंक जोडेको छ। मछिन्द्र छैटौं स्थानमा रहेको छ।
लिग अन्तर्गत शनिबार नै भएको अर्को खेलमा जावलाखेल युथविरुद्ध मनाङ मर्स्याङ्दी निरिह बन्यो। एकतर्फी खेल देखाएको जावलाखेललाई जित दिलाउन एनकोटो मासोबीले दुई गोल गर्दा फोडे फोफानाले एक गोल थपे। अनपेक्षित रुपमा नतिजा निकालेको जावलाखेलले लिगको सर्वाधिक ८ पटकको च्याम्पिन मनाङविरुद्ध खेलको चौथो मिनेटमा मासोबीको गोलबाट अग्रता लिएको थियो।
त्यसपछि निर्धारित ९० मिनेटको खेलमा मनाङ खेलमा फर्किन असफल भएको थियो। तर, खेलको इन्जुरी समयमा जावलाखेलले दुई गोल थप्न सफल भयो। दोस्रो मिनेटमा फोफानाले टोलीका लागि दोस्रो गोल गर्दा चौथो मिनेटमा मासोबीले व्यक्तिगत दोस्रो गोल गर्दै जावलाखेललाई ३–० को जित दिलाएका हुन्। यस जितसँगै जावलाखेलले ९ खेलमा १७ अंक जोडेको छ। मनाङको १५ अंक भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।