काठमाडौं– पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फेन्च लिग वान फुटबलमा सहज जित हात पारेको छ। शीर्ष स्थानमा रहेको पीएसजीले दोस्रो स्थानमा रहेको लेन्समाथि ३–१ को जित हात पार्यो।
पीएसजीको जितमा फ्रान्सेली फरवार्ड केलियन एमबाप्पेले कीर्तिमानी गोल गरे। यस्तै, मेसी र भिटिन्हाले पनि १–१ गोल गरे। लेन्सका प्रजेमिस्लाव फ्रान्कोस्कीले एक गोल गरे।
शनिबार राति पार्क डेस प्रिन्सेसमा भएको खेलको १९औं मिनेटमा नै लेन्स १० खेलाडीमा समेटिएको थियो। अब्दुल समेद सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि लेन्सको खेलको सुरुमै १० खेलाडीमा समेटिन पुगेको हो।
एमबाप्पेले खेलको ३१औं मिनेटमा भिटिन्हाको पासमा गोल गर्दै पीएसजीलाई अग्रता दिलाए। यो गोलसँगै एमबाप्पे फ्रेन्च लिग वानमा पीएसजीको सर्वाधिक गोलबर्ता बनेका छन्। १६० लिग खेलमा १३९ गोल गर्दै एमबाप्पेले एडिन्सन काभानीको कीर्तिमानलाई तोडे।
खेलको ३७औं मिनेटमा भिटिन्हाले नुनो मुन्डेसको पासमा गोल गर्दै पीएसजीलाई २–० को स्थितिमा पुर्याए। यस्तै, ४०औं मिनेटमा मेसीले अर्को गोल थपे। एमबाप्पेको पासमा मेसीले गोल गर्दै पहिलो हाफमा पीएसजीलाई ३–० को अग्रता दिलाए।
६०औं मिनेटमा लेन्सका प्रजेमिस्लाव फ्रान्कोस्कीले पेनाल्टीमा गोल गर्दै खेललाई ३–१ को स्थितिमा ल्याए। तर लेन्सका खेलाडीले थप गोल गर्न नसक्दा पीएसजीले ३–१ को जित निकाल्यो।
यस जितसँगै पीएसजीले शीर्ष स्थानमा ९ अंकको अग्रता हासिल गरेको छ। ३१ खेलबाट ७२ अंक जुटाउँदै पीएसजी शीर्ष स्थानमा छ। दोस्रो स्थानमा रहेको लेन्सको समान ३१ खेलबाट ६३ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।