काठमाडौं– स्टार खेलाडीले भरिएको चर्च ब्वाइज क्लबले राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिगमा सोमबार थ्री स्टार क्लबसँग बराबरी खेल्दै अंक बाँड्दा अर्को खेलमा फ्रेण्ड्स क्लबले हिमालयन शेर्पालाई ६–० को फराकिलो अन्तरले पराजित गरेको छ।
च्यासल मैदानमा सम्पन्न खेलमा चर्च ब्वाइज र थ्री स्टारले गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो। यससँगै चर्च ब्वाइजले शीर्ष स्थानको जावलाखेल युथ क्लवसँग अंक बराबरी गर्ने मौका गुमाएको छ। प्रतिष्पर्धात्मक बनेको खेलमा दुवै टोलीले निर्धारित ९० मिनेटको खेलमा राम्रा अवसर पाएका थिए।
तर, दुवै टोलीका स्ट्राइकरले अवसरलाई सदुपयोग गर्न सकेनन्। सुरुवात बलमा पकड र आक्रामक खेल पस्किए पनि चर्च ब्वाइज गोल निकाल्न असफल भएको थियो। खेलको चौथो मिनेटमा गगनदीप सिंहको लामो प्रहार थ्री स्टारका गोलकिपर मोहमद ताहाले पन्च गर्दै बाहिर पठाएपछि चर्च ब्वाइजको पहिलो अवसर खेर गएको थियो।
खेलको ३६ औं मिनेटमा चर्च ब्वाइजका आशिष चापागाईंले गोलको अवसर गुमाए। थ्री स्टारका पिटर सेगुनबाट बल खोसेर वान भर्सेस वानमा प्रहार गरेको बल पोस्टको नजिकैबाट बाहिरिएको थियो। खेलको ७६ औं मिनेटमा चर्च ब्वाइजका मिलन राईको सशक्त प्रहार थ्री स्टारका गोलकिपर मोहमद ताहाले बचाए। यस बराबरीसँगै थ्री स्टारले ९ खेलमा १५ अंक जोडेको छ। चर्च ब्वाइजले १५ अंक जोडेको छ।
लिग अन्तर्गत सोमबार नै भएको अर्को खेलमा फ्रेण्ड्सले हिमालयन शेर्पाविरुद्ध अप्रत्यासित नतिजा निकालेको छ। ललितपुरस्थित एन्फा मुख्यालयको मैदानमा भएको खेलमा फ्रेण्ड्सले हिमालयन शेर्पाविरुद्ध ६–० को एकतर्फी जित निकालेको हो। फ्रेण्ड्सको जितमा राफिक अमिनुले दुई गोल गरे भने अमित तामाङ, उत्तम राई, टोरिक जेब्रिन र अखरबेक उक्तामोभले टोलीका लागि एक/एक गोल गरे।
यस जितपछि फ्रेण्ड्सले राजधानीमा जारी लिगमा दोस्रो जित निकालेको छ भने ९ खेलबाट तालिकामा ८ अंक बनाएको छ र रेलिगगेश क्षेत्रभन्दा माथि उक्लिएको छ। उता हिमालयन शेर्पाले समान ९ खेलबाट ९ अंक नै जोडेको छ। यससँगै सहिद स्मारक ए डिभिजन लिगमा नवौं चरणका खेल पनि सकिएका छन्।
जावलाखेल युथ क्लब १७ अंकका साथ तालिकाको शीर्ष स्थानमा अटाउँदा सातदोबाटो युथ क्लब समान अंक भए पनि गोल अन्तरले पछि दोस्रो स्थानमा छ। विभागीय टोली नेपाल पुलिस क्लब रेलिगेशन क्षेत्रको अन्तिम स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।