काठमाडौं– म्यानचेस्टर सिटी इंग्लिस प्रमियर लिगको शीर्ष स्थानमा फर्किएको छ। आइतबार रातिको खेलमा फुलह्यामलाई २–१ ले हराउँदै सिटी पुन: शीर्ष स्थानमा उक्लिएको हो।
क्राभेन कटेजमा भएको खेलमा सिटीका अर्लिङ हलाण्डले जारी सिजनको ५०औं गोल पनि पूरा गरे। सिटीको जितका लागि हलाण्डसँगै युलियन अल्भारेजले पनि १ गोल गरे। फुलह्यामका लागि कार्लोस भिनिसियसले १ गोल गरे।
खेलको तेस्रो मिनेटमा नै पेनाल्टीमार्फत् गोल गर्दै हलाण्डले सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए। १५औं मिनेटमा फुलह्यामका कार्लोसले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए।
खेलको ३६औं मिनेटमा सिटीका युलियन अल्भारेजले गोल गरे। करिब २५ यार्ड टाढाबाट अल्भारेजले गरेको उत्कृष्ट प्रहार गोलमा परिणत हुँदा सिटी पहिलो हाफमा २–१ ले अगाडि रह्यो। दोस्रो हाफमा थप गोल हुन नसक्दा अल्भारेजको गोल नै निर्णायक बन्यो।
म्यान्चेस्टर सिटी शीर्ष स्थानमा उक्लिएको खेलमा नर्वेजियन स्टार हलाण्डले आफ्नो पहिलो सिजनमै ५० गोलको कीर्तिमान बनाए। इंग्लिस प्रमियर कपको शीर्ष क्लबको खेलाडीका रुपमा एउटा सिजनमा ५० गोलको कीर्तिमान बनाउने हलाण्ड दोस्रो खेलाडी हुन्। यसअघि सन् १९३१ मा एस्टोन भिल्लाका टम वरिङले यो कीर्तिमान बनाएका थिए।
३२ खेलबाट ७६ अंक बनाउँदै सिटी इंग्लिस प्रमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ। दोस्रो स्थानमा झरेको आर्सनलको ३३ खेलबाट ७५ अंक छ। फुलह्याम ३३ खेलबाट ४५ अंक बनाउँदै तालिकाको १०औं स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।