काठमाडौं– राजधानीमा जारी सहिद स्मारक ए डिभजिन लिग अन्तर्गत दोस्रो राउण्डको खेलमा शीर्ष स्थानको जावलाखेल युथ क्लब रेलिगेशन क्षेत्रको नेपाल पुलिससँग स्तब्ध भएको छ।
ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न खेलमा पुलिससँग जावलाखेल २–१ गोल अन्तरले पराजित भएको हो। खराब नतिजाबाट पहिलो राउण्डको खेलमा गुज्रिरहेको पुलिसले दोस्रो राउण्डको पहिलो खेलमा भने उत्कृष्ट सुरुवात गरेको छ।
पुलिसको जितमा दुवै गोल विदेशी खेलाडीले गरे भने मोसेस ग्याबाह र अहमद हिजाजीले एक/एक गोल गरे। जावलाखेलका विपीन कँडेलले एक गोल फर्काएका थिए।
प्रतिष्पर्धात्मक बनेको खेलको ३५ औं मिनेटमा मोसेसले गोल गर्दै पुलिसलाई सुरुवाती अग्रता दिलाएका थिए। मोसेसले अजित भण्डारीको फ्रि–किकलाई हेडमार्फत् जाली चुमाउन सफल भएका थिए। त्यसपछि दबाबमा परेको जावलाखेलले खेलमा फर्किन निकै प्रयास गरे पनि पहिलो हाफमा सफल हुन सकेन।
गोलका लागि बारम्बार अगाडि बढेर खेलेको जावलाखेलले दोस्रो हाफमा पनि अपेक्षा अनुसारको प्रदर्शन गर्न सकेन। अगाडि बढेको मौकामा ८८ औं मिनेटमा अहमदले पुलिसको अग्रता दोब्बर बनाए। अहमदले मोहम्मद थ्रो बललाई नियन्त्रणमा लिँदै उकृष्ट गोल गरे।
त्यसको एक मिनेट नबित्दै जावलाखेलका विपीनले गोल गर्दै अग्रता घटाए पनि बाँकी समयमा थप गोल गर्न सकेन र नतिजा पुलिसलाई सुम्पियो। यससँगै लिगमा पुलिस चौथो जित निकालेको छ। जितसँगै पुलिसले १४ खेलमा १५ अंक जोडेर १० औं स्थानमा उक्लिएको छ।
उता पराजित जावलाखेलले पनि जारी लिगमा चौथो हार भोगेको छ। जावलाखेल १४ खेलमा २४ अंक जोडेर शीर्ष स्थानमा रहेको छ।
लिग अन्तर्गत ललितपुरस्थित च्यासल मैदानमा सम्पन्न खेलमा थ्री स्टार क्लव र खुमलटार युथ क्लबले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्।
तेस्रो मिनेटमा थ्री स्टारले अग्रता लिएको थियो। लाकेन लिम्बूले गोल गर्दै थ्री स्टारलाई अग्रता दिएपछि पहिलो हाफको इन्जुरी समयमा खुमलटारका मेसुके ओलोमोउले गोल गर्दै खेल बराबरीको अवस्थामा ल्याएका थिए। दोस्रो हाफमा थप आक्रामक रणनीतिका साथ मैदान उत्रिएको थ्री स्टार हिलाम्मे मैदानमा सम्हालिएको प्रदर्शन गर्न सकेन।
अगाडि बढेको मौकामा खुमलटारले गोल गर्दै अग्रता उल्टाउन सफल भएको थियो। समिर विनोङले गोल गर्दै खुमलटारको अग्रता उल्टाएका थिए। तर ६७ औं मिनेटमा भने थ्री स्टारले पेनाल्टीबाट खेल बराबरीको अवस्थामा ल्याउन सफल भयो। आदित्य शाक्यले पेनाल्टीमा गोल गर्दै टोलीलाई हराबाट जोगाउन सफल भए।
यससँगै थ्री स्टारले शीर्ष स्थानमा उक्लिने मौका गुमाएको छ। १४ खेलबाट २३ अंक बनाएको थ्री स्टार तालिकाको दोस्रो स्थानमा यथावत रहँदा समान खेलबाट १४ अंक बनाएको खुमलटार तालिकाको पुछारमा झरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।