काठमाडौं– पेरिस सेन्ट जर्मेनका दुई स्टार खेलाडी लियोनल मेसी र नेयमारलाई एकसाथ अनुबन्धन गर्ने दौडमा स्पेनिस क्लब बार्सिलोना लागिपरेको दाबी फुटबर ट्रान्सफर डटकमले गरेको छ।
फुटबल सम्बन्धीको इंग्लिस न्यूज पोर्टल फुटबल ट्रान्सफर डटकममा स्टिभ केले एक रिपोर्ट लेख्दै यस्तो दाबी गरेका हुन्। मेसी र नेयमार दुवै बार्सिलोनाका पूर्वखेलाडी हुन्। अहिले यी दुवैलाई एकसाथ अनुबन्धन गरेर बार्सिलोनाले फेरि एक पटक चमत्कार देखाउन सक्ने दाबी फुटबल ट्रान्सफरले गरेको छ।
नेयमारले केही दिनअघि मात्रै स्पेन पुगेर रात्रि जीवनको आनन्द समेत लिएका थिए। बार्सिलोनाले ला-लिगा जितेपछि बार्साका खेलाडी र प्रशिक्षक जाभीसँग नेयमारले उत्सव समेत मनाइको स्टिभले उल्लेख गरेका छन्। यो घटनाबारे पीएसजी जानकार रहेको र सकेसम्म फ्रि ट्रान्सफरमा आफ्ना खेलाडी पठाउन पक्षमा पीएसजी नरहेको दाबी गरिएको छ।
बार्साले पीएसजी छाड्न चाहेका मेसीलाई भित्र्याउन खोज्नेछ। तर बार्सिलोनाले त्यसका लागि पारिश्रमिक मिलान गर्ने बाटो पहिल्याउन नसकेको अवस्थामा मेसी साउदी जाने सम्भावना पनि उत्तिकै छ।
यी दुई स्टार भित्र्याउने उद्देश्य राखेर बार्सिलोनाले आफ्ना केही ठूला खेलाडी बेच्ने तयारी समेत थालेको फुटबल ट्रान्सफरले उल्लेख गरेको छ।
मेसीले साउदी अरबको क्लबसँग सम्झौता गरेको भन्ने रिपोर्ट आए पनि त्यो तथ्य नरहेको र अहिलेसम्म मेसीको भविष्य अन्योल रहेको स्टिभले उल्लेख गरेका छन्।
पीएसजीले सन् २०१७ मा २०० मिलियन युरोमा नेयमारलाई बार्सिलोनाबाट लगेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।