काठमाडौं– राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको कालीगण्डकी करिडोर आर्थिक वर्ष २०८३/०८४ सम्म सम्पन्न हुने भएको छ।
सरकारले २०८१ सम्मको लक्ष्य राखे पनि भौगोलिक कठिनाइका कारण बढी समय लाग्ने बताइएको हो। कालीगण्डकी करिडोरअन्तर्गत गैँडाकोट–राम्दी सम्मको सडकखण्ड भने हालसम्म ६० प्रतिशत प्रगति भएको छ। आयोजनाको अवलोकन एवं निरीक्षण गर्दै राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सडकखण्डको निर्माणको कामले तिब्रता पाएको बताए।
उनले देशभरका निर्माणका काममा ढिलासुस्ती भए पनि कालीगण्डकी करिडोरको काम चुस्त रुपमा भइरहेको पाएको भन्दै खुसी व्यक्त गरे। राम्दीदेखि रानीमलसम्मको काम भने सुस्त भएको तिमिल्सिनाले बताए।
राष्ट्रिय सभा सदस्य राजेन्द्रलक्ष्मी गैरेले कालीगण्डकी करिडोरको काम उल्लेख्य रुपमा राम्रो भएपनि पुल निर्माणमा भने समस्या देखिएको बताइन्। उनले कालीगण्डकी डाइभर्सनको कुराले धेरैलाई चिन्तित बनाएको भन्दै यसमा आवश्यक ध्यान जानुपर्नेमा जोड दिइन्।
लुम्बिनी प्रदेश सभा सदस्य राजुप्रसाद श्रेष्ठले कालीगण्डकी करिडोरको स्तरोन्नतिका लागि धेरै काम गर्न आवश्यक रहेको बताए। विकाससँगै करिडोर जोडिएका क्षेत्रहरुमा रोजगारी र उत्पादन क्षेत्रमा जोड दिनुपर्ने उनको भनाइ छ।
गैँडाकोट–राम्दी सडकखण्डसम्मको आयोजना प्रमुख शंकर पौडेलले कालीगण्डकी करिडोर धार्मिक, आर्थिक, सामाजिक, सांस्कृतिक रुपमा नै महत्वपूर्ण हुने बताए। उनले अहिले काम भइरहेको केही ठाउँमा काममा ढिलासुस्ती भइरहकाले नयाँ ठेक्का दिनुपर्ने आवश्यक्ता देखिएको बताए।
पौडेलका अनुसार प्राकृतिक विपत् लगायतका केही कारणले कतिपय ठाउँमा सडक निर्माणको ठेक्का दिइ नसकिएको उल्लेख गरे। सडकखण्डका केही ठाउँमा पुल बनाउन आवश्यक रहेको पनि उनले बताए।
गैँडाकोट–राम्दीसम्म यस आर्थिक वर्षमा ७५ किलोमिटर कालोपत्रे गर्ने लक्ष्य राखेपनि अहिलेसम्म भौगोलिक समस्याका कारण ५० प्रतिशतमात्रै काम सम्पन्न भएको र बाँकी समयमा यस आर्थिक वर्षमा ७० प्रतिशतसम्म सडक कालोपत्रे गर्ने पौडेलले बताए। ठेक्कापट्टलाई आधार मान्दा गैँडाकोट–राम्दी सडकखण्डमा ६० प्रतिशत भौतिक प्रगति हासिल भएको उनले बताए।
पाल्पाको रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले कालीगण्डकी नदीलाई पथान्तरण गर्नेकुरा गम्भीर विषय भएको बताए। उनले राम्दीदेखि देवघाटसम्म पैदल मार्ग र साइक्लिङ रुट बनाउनसके यसको महत्त्व झनै बढ्ने बताए।
४४० किलोमिटर लामो यो सडक निर्माणका लागि २ वटा कार्यालयबाट काम भइरहेको छ। गैँडाकोट–राम्दी–मालढुङ्गा (दक्षिण) खण्डको २४० किलोमिटरका लागि पाल्पा कार्यालय तथा मालढुङ्गा–कोरला (उत्तर) खण्डको २०० किलोमिटर खण्डका लागि जोमसोम कार्यालयबाट काम भइरहेको छ।
गैँडाकोट–राम्दी–मालढुङ्गा खण्डमा ५७ वटा पुल निर्माण गर्नुपर्नेमा हालसम्म २७ वटा पुल निर्माण भइसकेको छ। गैँडाकोट–राम्दी–मालढुङ्गा खण्डको कुल २५ अर्ब लागत रकम रहेकोमा हालसम्म कुल १२ अर्ब बराबरको ठेक्कापट्टा व्यवस्थापन भइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।