काठमाडौं– भेट्रान स्पेनिस डिफेन्डर सर्जियो रामोस अहिले क्लबिबहीन छन्। शनिबार रातिबाट फ्रेन्च क्बल पीएसजीबाट औपचारिक बिदाइ भएसँगै अब रामोसको भविष्य कता भन्ने प्रश्न तेर्सिएको छ।
पीएसजीको जर्सीमा शनिबार राति क्लर्मन्टविरुद्ध अन्तिम खेल खेल्दै भेट्रान डिफेन्डर रामोस बिदाइ भए । रामोसले आफ्नो अन्तिम खेलमा भिटिन्हाको क्रस पासमा हेडमार्फत गोल गरेका थिए।
पछि खेल पीएसजीले हारे पनि उनको व्यक्तिगत प्रदर्शन भने उत्कृष्ट रह्यो। पीएसजीमा गएपछि रामोसले दुई वटा लिग वान टाइटल पनि जितेका छन्। दुई वर्षको सम्झौतापछि रामोस पनि पीएसजीबाट औपचारिक रुपमा विदाइ भएका छन्। अब उनको गन्तव्य कहाँ ? भन्ने जवाफ अहिलेसम्म आइसकेको छैन।
रामोस दुई वर्षअघि स्पेनिस क्लब रियल मड्रिडबाट पीएसजी पुगेका थिए। रियल मड्रिडमा ट्रफी नै ट्रफीले घेरिएका रामोस आफ्नो समयका महान डिफेन्डर हुन्।
तर पीएसजी पुगेपछि उनको सफलता खुम्चियो। पहिलो सिजन उनी लामो चोटबाट गुज्रिनु पर्यो। दोस्रो सिजन पनि पीएसजीले सोचेअनुसार प्रर्दशन गर्न सकेन। अझ च्याम्पियन्स लिग जित्ने पीएसजीको लक्ष्य अधुरै रह्यो। यही बीचमा पीएसजीले रामोलाई विदाइ गरेको छ। रामोसको विदाइसँगै उनी जानसक्ने पाँच विकल्पबारे हामीले उल्लेख गरेका छौं।
साउदी प्रो लिग
पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोलाई साउदी प्रो लिग क्लब अल नासरले भित्र्याएपछि साउदीका अन्य क्लबहरू पनि अहिले ठूला खेलाडी भित्र्याउने दाउमा लागेका छन्।
मेसीदेखि रियल मड्रिडका स्टार करिम बेन्जिमासम्मलाई भित्र्याउने लक्ष्य राख्दै प्रो लिग क्लबहरुले प्रस्ताव गरिरहेका छन्। जसकारण आर्थिक पक्ष बलियो रहेका प्रो लिग क्बलहरुले रामोसलाई लैजान सक्ने आँकलन गरिएको छ।
ढल्कँदो उमेरका युरोपेली लिगहरुमा रामोसको माग कम हुनु र राम्रो आर्थिक प्रस्ताव आएको अवस्थामा साउदी प्रो लिग रामोसको नयाँ गन्तव्य बन्न सक्ने देखिन्छ।
रोमा
इटालियन सिरी ए क्लब रोमा पनि रामोसका लागि अर्को गन्तव्य बन्न सक्ने देखिन्छ। आउँदो सिजन च्याम्पिन्स लिगमा समेत स्थान बनाउन नसकेको रोमाले रामोसलाई भित्र्याएर बलियो रक्षापंत्ति बनाउन सक्ने आँकलन गरिएको छ।
रोमाको मुख्य प्रशिक्षकमा अहिले जोसे माउरिन्हो छन्। माउरिन्हो २०१० देखि २०१३ सम्म रियल मड्रिडको प्रशिक्षक बनेका थिए। जसकारण रामोस र माउरोन्हिबीच राम्रो सम्बन्ध पनि छ।
तर रोमा फाइनान्सिलय फेयर प्लेको समस्यामा छ। अझ युरोपा लिगको फाइनलमा सेभिल्लासँग हारेपछि राजश्व थप गिरावट भएको छ।
म्यानचेस्टर युनाइटेड
इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड पनि जान सक्ने विकल्प रामोससँग छ। युनाइटेडका कप्तान तथा डिफेन्डर ह्यारी मागुइरीको भविष्य समेत अन्योल रहेकाले उनको ठाउँमा रामोस युनाइटेड जानसक्ने विश्लेषण गरिएको छ।
फ्रि ट्रान्सफमार रामोस उपलब्ध हुने भएकाले उनलाई अनुबन्धन गर्न युनाइटेडलाई सहज पनि हुनेछ। अहिले युनाइटेडको रक्षापंक्तिका मुख्य खेलाडी राफेल भारान पनि रियल मड्रिडमा रामोससँग खेलेका साथी हुन्। यदि रामोस युनाइटडे आएको अवस्थामा यी दुईको जोडी फेरि जम्न सक्ने सम्भावना हुन्छ।
मेजर लिग सोकर
अमेरिकन एमएलएस (मेजर लिग सोकर) विकल्प पनि रामोसका लागि खुल्ला छ। एमएलएस क्लब इटर मियामीले समेत मेसीलाई ल्याउन कसरत गरिहरेको बेला रामोसका लागि पनि एमएलएस लिग विकल्प बन्न सक्ने देखिन्छ।
यद्यपि उनीहरूले अस्ताउँदा अवस्थाका ३७ वर्षीय रामोसलाई भित्र्याउन कति इच्छुक छन् भन्ने कुरामा भर पर्छ। अहिले अस्ताउँदो भन्दा पनि उदाउँदो खेलाडीहरू एमएलएस क्लबहरूले जोड दिइरहेका छन्।
रियल मड्रिड
रामोसका लागि अन्तिम विकल्प आफ्नो पूर्वक्लब रियल मड्रिड पनि हुन सक्छ। यो रोमोसका लागि पनि सबैभन्दा उत्कृष्ट विकल्प हुने बताइएको छ। रियल मड्रिडका अध्यक्ष फ्लोरेन्टिहो लोपेज बोल्ड निर्णय गर्न पनि माहिर मानिन्छन्।
आफ्ना भेट्रान पूर्वखेलाडी रामोसलाई कुनै पनि समयमा भित्र्याउन सक्ने खुबी उनीसँग छ। यद्यपि आफ्ना भेट्रान पूर्वखेलाडी रोनाल्डोलाई भित्र्याउने विकल्प हुँदाहुँदै पनि फ्लोरेन्टिहोले रोनाल्डोलाई रियल भित्र्याएनन्।
अब रामोसको हकमा के हुन्छ त्यो भने हेर्न बाँकी नै छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।