काठमाडौं– साविक विजेता मच्छिन्द्र फुटबल क्लबले सहिद स्मारक ए डिभिजन लिगमा बुधबार हिमालयन शेर्पामाथि ३–१ को जित निकालेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मच्छिन्द्रले हिमालयन शेर्पा क्लबमाथि ३–१ को जित निकाल्दै चर्च ब्वाईजसँगको अग्रता छोट्याएको हो।
जित हात पार्ने क्रममा मच्छिन्द्रले पहिलो हाफमा एक गोलको अग्रता लिएको थियो भने दोस्रो हाफमा थप दुई गोल गर्दै एक गोल खान पुगेको थियो। मच्छिन्द्रका लागि विमल घर्ती मगरले एक तथा आफिज ओलावालेले दुई गोल गरे।
यस्तै हिमालयनका पिस्टोन मुटुम्बाले एक सान्त्वना गोल फर्काएका थिए। हिमालयन शेर्पामाथि सुरुवात बाट नै हावी हुँदै खेलेको मच्छिन्द्रले २६ औं मिनेटमा विमलको गोलबाट अग्रता लिएको थियो। पुजन उपरकोटीको क्रसमा विमलले हेडरमार्फत् उत्कृष्ट गोल गरेका थिए।
खेलको ६८ औं मिनेटमा ओलावालेले गोल गर्दै मच्छिन्द्रको अग्रता २–० को बनाउँदा ७७ औं मिनेटमा ओलावालेले पेनाल्टीमार्फत् व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता ३–० मा पुर्याएका थिए।
ओलावालेको जारी लिगमा २० औं गोल पनि पूरा भएको छ। हिमालयनका ओबयोमी फान्कुले पेनाल्टी क्षेत्रमा ओलावालेलाई फउल गर्दै लडाएपछि मछिन्द्रले पेनाल्टी पाएको थियो। खेलको अन्तिम १० मिनेट दुवै टोली १० खेलाडीमा समेटिएका थिए।
खेलको ८२ औं मिनेटमा मच्छिन्द्रका गोलकिपर विशाल श्रेष्ठले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएर मैदानबाट बाहिरिएका थिए। यस्तै ८५ औं मिनेटमा निशान लिम्बूले रातो कार्ड पाएपछि हिमालयन पनि १० खेलाडीमा समेटिएको थियो। विपक्षी खेलाडीसँग झगडा गरेपछि उनलाई रातो कार्ड दिएर मैदान बाहिर पठाइएको थियो।
त्यसपछि खेलको ९० औं मिनेटमा हिमालयनका पिस्टोनले फ्रिकिकमार्फत गोल गरेपनि मच्छिन्द्र ३–१ ले विजयी भयो। मच्छिन्द्रको यो ११ औं जित हो । जितसँगै मछिन्द्रले २५ खेलमा ४२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ। हिमालयनले २५ खेलमा ३१ अंक जोडेको छ।
लिग अन्तर्गत बुधबार नै भएको अर्को खेलमा न्युरोड टिम (एनआरटी)ले मनाङलाई १–० ले स्तब्ध बनायो। स्पष्ट जित निकाल्ने क्रममा एनआरटीका दिपेश आले मगरले १७ औं मिनेटमा गरेको गोल निर्णायक बनेको थियो।
यससँगै एनआरटीले जारी सिजनमा आठौं जित निकाल्न सफल भएको छ। एनआरटीले २५ खेलमा ३३ अंक जोडेको छ। पराजित मनाङले २५ खेलमा ३२ अंक जोडेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।